विराटनगर — देशको ‘औद्योगिक राजधानी’ विराटनगर वर्षको चार दिन एउटा धार्मिक राजधानीमा रूपान्तरण हुन्छ । जब सहरभर ‘छठ मइया’का गीत गुञ्जिन्छन्, नदीदेखि नहरसम्म दीप प्रज्वलित हुन्छन् । महिलाहरू निराहार बसी सूर्यलाई अर्घ्य दिन घाटतर्फ निस्कन्छन् ।‘छठ पर्व होइन, यो आस्था, सहनशीलता र श्रमको उत्सव हो’, सिंघिया खोलामा भेटिएका स्थानीय रघुपतिलाल यादवले सुनाए, ‘अस्ताउँदो सूर्यको आराधना र उदाउँदो सूर्यलाई अर्घ्य दिएर प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने यो परम्परा विराटनगरमा वर्षौंदेखि संस्कारको रूपमा जरा गाडिसकेको छ ।’ छठका चार दिनमा विराटनगरका मुख्य घाटहरू– सिंघिया, केशलिया, मिलनचोक, त्रिमूर्ति तथा नहर र पोखरीहरू आस्थाको केन्द्र बन्छन् । साँझ पर्दै गर्दा ती घाटहरू दीप र रंगोलीले झकिझकाउ छन् ।सहरका युवाहरू स्वयंसेवकका रूपमा जुटेका छन् । प्रहरी, स्काउट र छठ समितिका सदस्यहरू सुरक्षा र सरसफाइमा खटिन्छन् । महिलाहरूले माटाको गाग्रीमा धूप, दीप र फलफूल सजाउँछन् ।सिंघिया खोलाको किनार सोमबार साँझमा रंगीन बनेको छ । हजारौं दीपको उज्यालोसँगै पानीमा परावर्तित दृश्य निकै रोमाञ्चक देखिएको छ । ‘यसैले विराटनगरका बासिन्दालाई आस्था र सौन्दर्यको मिलन अनुभूति गराउँछ’, स्थानीय रामवती राजवंशीले सुनाइन् ।
निराहार शरीर, अटल मन
छठका प्रमुख कर्ता हुन्, व्रतालु नारीहरू । उनीहरू चार दिनसम्म कठोर नियम पालना गर्छन् । पहिलो दिन ‘नहायखाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘संध्या अर्घ्य’ र अन्तिम दिन ‘उषा अर्घ्य’।खरनाको दिन व्रतालुले सख्खर, चामल र दूधको खीर पकाएर सूर्यलाई चढाउँछन्, अनि अर्को दिनदेखि निर्जल रहन्छन् । तीन दिनसम्म न पानी, न अन्न, मात्रै भक्ति ।विराटनगरकी ४५ वर्षीया व्रतालु मीना देवीले सुनाइन्, ‘छठ मइया हाम्रो जीवनको आधार हो । भोक र थकान बिर्सिन्छौं, किनकि मनमा श्रद्धा छ ।’
भजन, लोकगीत र सांगीतिक रात
विराटनगरको छठ साँझ साँच्चै मनमोहक हुन्छ । घाटमा र गाउँ–टोलमा लोकगीत गुञ्जिन्छ, ‘काँच ही बांस के बहंगिया, बहंगिया लचकत जाए’, ‘छठ मइया आयी गांव में’ जस्ता गीतहरूले व्रतालुका मनमा ऊर्जा भर्छन् ।स्थानीय समितिहरूले पारम्परिक नाटक र नृत्यको पनि आयोजना गर्छन् । पछिल्ला वर्षमा युवा पुस्ताले ब्यान्ड र ध्वनि प्रणालीमार्फत भजनको आधुनिक रूप प्रस्तुत गर्न थालेका छन् । यस्तो मिश्रणले विराटनगरको छठलाई परम्परा र आधुनिकताको संगम बनाएको छ ।छठले विराटनगरमा धर्म, जात र वर्गबीचको भेद मेटाइदिन्छ । घाटमा हिन्दू, मुस्लिम, मधेशी–पहाडिया सबै एउटै पंक्तिमा देखिन्छन् । सूर्य सबैका हुन्, आस्था सबैको साझा हो ।
