विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालको नाममा रहेको जग्गामा अतिक्रमण गरेर बनेका संरचना हटाउने तयारी थालेको छ । नेपाल सरकारको संघीय सरकारले सञ्चालन गर्दै आएको अस्पतालको जग्गामा धेरै अवैध संरचनाहरु बनेका छन् ।
स्वास्थ्य मन्त्रालयको गत वैशाख ३० गते निर्देशानात्मक परिपत्रसँगै संरचना हटाउने प्रक्रिया अगाडी बढाइएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आफ्नो जग्गा छुट्टयाउन हाल नापजाँच गरिरहेको कोशी अस्पतालका प्रशासन प्रमुख नवराज लुइटेलले बताए । उनले भने, ‘अहिलेको सरकारले आँटेमा संरचना हट्ने शतप्रतिशत संभावना छ । त्यसका लागि पहिलो चरणको नापजाँच थालिएको छ ।’ पहिलो चरणबाट हालसम्म कायम रहेको अस्पतालको जम्मा जग्गाको क्षेत्रफल पत्ता लाग्ने र कानुनी प्रक्रियामा जान सजिलो हुने उनको भनाइ छ ।
अस्पतालले जग्गा नापजाँच तथा सीमाना छुट्याउन एउटा समिति नै बनाएर काम थालेको छ । अस्पतालका शाखा अधिकृत त्रिलोचन न्यौपानको संयोजकत्वमा बनेको समितिले काम सकेर प्रतिवेदन बुझाएपछि मालपोत र नापीको प्रतिवेदनसमेत समावेस गरेर अवैध संरचनाको टुंगो लाग्नेछ । त्यसपश्चात् अवैध रुपमा लामो समयदेखि भोगचलन गर्दै आएका संरचना भत्काइने प्रशासन प्रमुख लुइटेलले बताए । सीमा यकिनको काम गर्दा अस्पतालको जग्गा मिच्नेहरु हावी हुन खोजेपछि प्राविधिक टोलिसँगै व्यापक रुपमा प्रहरीसमेत परिचालन गरिएको थियो । अस्पतालको जग्गा मिचेर संरचना बनाउने र भाडामा लगाएर त्यसलाई अपचलन गर्नेहरुले दबाब दिन खोजेका थिए ।
कोशी अस्पतालको नाममा पाँच बिघा आठ कठ्ठा नौ धुर जग्गाको स्रेता रहेको छ । विराटनगर ७ नम्बर (साविक विराटनगर १०) वडाको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ नम्बरमा अस्पतालको जग्गा छ । छ वटा कित्तामध्ये २६ नम्बरको सबैभन्दा धेरै जग्गा मिचिएको स्रेस्तामा देखिने गरेको अस्पतालको दाबी छ । अस्पतालले अगाडी गरेको नापजाँचमा १ सय ३० दशमलम ५ मिटर जग्गा अतिक्रमण गरेर उक्त ठाउँमा अन्य संघसंस्थाले संरचना बनाएर भाडा असुल्दै आएको थिए । अस्पतालको जग्गामा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले आफ्ना तथा आफ्नो मातहतमा राखेर भाडाका संरचना बनाएका छन् ।
‘अहिले पनि त्यहाँ रहेको संरचना भएका संस्थासँग आफ्नो पूर्जा छैन, जोसँग पूर्जा छैन त्यो जग्गा सबै अस्पताल हो’, प्रशासन प्रमुख लुइटेलले भने । उनका अनुसार अस्पतालले बारम्बार छोड्न भन्दा विवाद सिर्जना हुँदै आएको छ । संरचना बनाएर ती संस्थाले भाडा असुल्दै आएका छन् । कोशी अस्पतालका दुई ठूला संरचना बनिरहेका छन् । संघीय सरकारले कोशी अस्पतालमा पाँच सय शय्याको मेडिकल भवन र दुुई सय ५९ शय्याको बहु–विशेषज्ञता सेवा सञ्चालनका लागि भवन निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसका लागि अस्पतालले आफ्नो जग्गा आफैं उपभोग गर्नुपर्ने अवस्था रहेको छ । अस्पताल प्रशासनका नासु लुइटेलका अनुसार जग्गा नापजाँचको कार्य गर्नुपूर्व २०७६ सालदेखि २०८३ असारसम्मको दशलाख ५७ हजार ६ सय १० रुपैयाँ राजस्व अस्पतालले जम्मा गरिसकेको छ ।
अस्पतालको जग्गामध्ये क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर, गणेश मन्दिरले २ कठ्ठा, देवकोटा पुस्तकालयले २ कठ्ठा १० धुर र रेडक्रस सोसाइटीले २ कठ्ठा बढी जग्गा ओगट्दै आएको लुइटेलले बताए । ‘अस्पतालको जग्गा यस अगाडी समेत बारम्बार खाली गर्ने प्रयास गरिएको थियो । तर, पहुँचको प्रयोग गरी दबाब दिएका कारण त्यसै रोकिएको थियो । तर यस पटक भने सीमा यकिन गरेर स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन पठाए लगतै स्थानीय प्रशासनसँग समन्वय गरेर भत्काउने तयारी गरेको छ’, उनले भने
