विराटनगर । नेपाली कांग्रेसको राजनीतिमा २०४२ सालको सत्याग्रहदेखिदेखि सक्रिय रहँदै आउनुभएका केशरकुमार बस्नेतले आसन्न नेपाली कांग्रेस कोशी प्रदेश अधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको छ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका बस्नेत २०४६ सालको जनआन्दोलनका बेला नेपाल विद्यार्थी संघ नेविसंघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा रहनुभएको थियो। लोकतन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। बस्नेतले पार्टीको संगठन निर्माण तथा विस्तारमा समेत योगदान पुर्याउनुभएको छ। उहाँ पटक–पटक पार्टीको महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।
बस्नेतले नेपाल विद्यार्थी संघ विराटनगरको तदर्थ समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउनुभएका उहाँले नेपाली कांग्रेसको वडा तहदेखि क्षेत्र, जिल्ला हुँदै कोशी प्रदेशसम्म विभिन्न जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। पार्टीका विभिन्न तहमा निर्वाचित हुँदै कार्यसम्पादन समितिमा समेत काम गर्नुभएका बस्नेतले स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालिसक्नुभएको छ।
त्यसैगरी, २०६२र६३ सालको जनआन्दोलनमा पनि सक्रिय रहनुभएका बस्नेतले राजनीतिक गतिविधिसँगै सामाजिक सेवामा समेत योगदान पुर्याउँदै आउनुभएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिको सदस्यमा निर्वाचित भइसक्नुभएका उहाँ हाल प्रदेश समितिअन्तर्गत स्वास्थ्य सेवा विभागको नेतृत्व गरिरहनुभएको छ। उहाँले प्रदेश समितिको कार्यसम्पादन समितिमा रहेर समेत काम गरिसक्नुभएको छ।
लामो राजनीतिक अनुभव, विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका र पार्टीको संगठनात्मक जिम्मेवारीलाई निरन्तरता दिँदै आउनुभएका बस्नेतले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो। उहाँको उम्मेदवारीसँगै कांग्रेस कोशी प्रदेशको आगामी नेतृत्व चयन प्रक्रियामा उहाँको भूमिका चासोको विषय बनेको छ।
