विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गर्ने गरी घोषणा गरेका पुरस्कारहरूनेपाली साहित्यको विविध विधा र क्षेत्रमा महत्वपूर्ण योगदान गरेका चार जना साहित्यकारहरूलाईएक विशेष समारोहका बीच समर्पण गरेको छ।कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकारहरूबलराम पोखरेल,प्राध्यापक कविराज न्यौपाने, सरला चापागाई, प्राज्ञ गंगा सुवेदी, पुरस्कार दाताहरू र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतका अग्रज स्रष्टाहरूले संयुक्त रुपमा उक्त पुरस्कारहरू समर्पण गर्नुभयो ।
प्रतिष्ठानले यस वर्ष नरनाथ-नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रू. १५ हजार ) नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका अत्यन्त प्रभावशाली र बहुआयामिक व्यक्तित्व प्रा.डा. गोविन्दराज भट्टराईलाई र नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु. १५ हजार) नेपाली कविता, समालोचना, वालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रहेर नेपाली साहित्यको श्रीवृद्धि र प्रवर्द्धनमा योगदान पुर्याउनु भएकी साहित्यकार प्राज्ञ डा. कौशिला रिसाललाई अर्पण गरेको छ ।छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई र माधव-नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका एक समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरेको छ । कार्यक्रममा पुरस्कृत स्रष्टा एवम् द्रष्टाहरूको व्यक्तित्व र कृतित्वको बारेमा सशक्त कविहरू विन्दु दाहाल ‘मुकदर्शक’, नानुमैया दाहाल, गोपाल निर्भिक र लक्ष्मी पोखरेलले समीक्षात्मक ढङ्गले संक्षेपमा चर्चा गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपानेले नेपाली साहित्यको उन्नयन र विकासमा यस प्रकृतिका कार्यक्रमहरूले दरिलो खम्बाको रूपमा काम गर्ने बताउनुभयो । त्यस्तै आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले नेपाली मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य साहित्यक विधाहरूसँगसँगै समान तहमा मुक्तकको अध्ययन चिन्तन मनन र गहन छलफल हुनुपर्दछ भन्ने तर्क प्रस्तुत गर्नुभयो ।सचिव मदन भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोशी प्रदेशका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
