

विराटनगरस्थित कोशी अस्पताल विकास समितिले विना प्रतिस्पर्धा आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेको विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ ।
गत भदौ ११ गते स्वास्थ्य मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार प्रतिस्पर्धा बिना नै चिकित्सक नियुक्ति गरेको विषयमा याथाशीघ्र जवाफ पठाउन मन्त्रालयले कोशी अस्पताललाई पत्र पठाएको हो ।मन्त्रालयले कोशी अस्पतालको आवश्यक विभागमा जनशक्ति नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र बिना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिनुको औचित्य के हो ? कुन कानुन बमोजिम भर्ना गरिएको हो खुलाइ जवाफ पठाउनुपर्ने जनाएको छ ।
‘सञ्चारमाध्यममा कोशी अस्पतालमा बेथिति शीर्षकमा आवश्यक विभागमा चिकित्सक नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र विना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिएको भन्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।उक्त समाचार बमोजिम सत्य तथ्य के हो र विना प्रतिस्पर्धा चिकित्सक भर्ना गर्नुपर्ने विषयको औचित्यता के हो र कुन कानुन बमोजिम भर्ना गरिएको हो खुलाई यथाशीघ्र जवाफ पठाउनु हुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०५।११ को निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयले अस्पताललाई पठाएको पत्रमा उल्लेख छ ।
भदौ २ गते कोशी अस्पताल विकास समितिले ९ जना चिकित्सकलाई ठाडो नियुक्ति दिएको विषय सार्वजनिक भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा.सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत विना प्रतिस्पर्धा सिधै नियुक्त गर्ने निर्णय गरेको थियो ।
जसअनुसार नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल,कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.ज्योति कार्की, पेटरोग विशेषज्ञ डा.रोहित यादव, मनोचिकित्सक डा.सविता खड्का, एनएसथेसियाहरु डा.प्रवीण झा र डा.राजन राईलाई नियुक्ति दिइएको थियो ।
यसैगरी मेडिकल अफिसरमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा.मनोज मनिष साह र आइसियूको लागि डा. विशका गुरुङलाई नियुक्त गरिएको छ । उनीहरूलाई सुरुमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नियमभन्दा बाहिर गएर चिनजानको भरमा अस्पतालमा चिकित्सक र कर्मचारी नियुक्ति गरेर भर्ती केन्द्र नबनाउन कोशी अस्पताललाई निर्देशन दिएका छन् ।
कोशी अस्पताल विकास समिति अध्यक्ष डा.फरवर्ड सिलवाल र मेसु डा.रविराज सिंहलाई साथमा राखेर मन्त्री पौडेलले कोशी अस्पतालमा चिनजानको आधारमा जथाभावी कर्मचारी नियुक्ति गर्ने कार्य बन्द गर्नुपर्ने बताएका हुन् ।कोशी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तारसम्बन्धी सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका लागि विराटनगर आएका मन्त्री पौडेलले विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धाबाट मात्रै चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गर्न निर्देशन दिए । स्वास्थ्य संस्थामा कुनै पनि नियम रहेन भने यो देशमा कतै पनि नियम नरहने उनको भनाइ थियो । उनले विकास समितिको आम्दानी पारदर्शी बनाउन पनि निर्देशन दिए ।स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कोशी अस्पताललाई मागिखाने भाँडो नबनाउन आग्रह गरेका छन् । जनतालाई सेवा दिन ठाउँ बनाउनुपर्नेमा उनले जोड दिए । ‘अस्पतालमा केही बिग्रियो भने हामीले भन्ने मेसु र अध्यक्षलाई हो ।
कोशी अस्पताल देशको अस्पताल हो । भएको साधन स्रोतको भरपुर उपयोग गरेर सेवा दिनुपर्दछ,’ उनले भने, ‘काम गर्नुभएको छ । अझै परिष्कृत भएर काम गरिदिनुभयो भने जनताले सहज सेवा पाउने थिए ।’