विराटनगर, फलफूल उद्योग सञ्चालनका लागि सरकारबाट हदबन्दी छुट पाएको विराटनगर माहानगरपालिका वडा नम्बर २ सोमबारे हाटको जग्गामा केही औद्योगिक घरानाले रजगज गरेको पाइएको छ । उनीहरुले जग्गा कारोबारीहरुसँग मिलेर सरकारी जग्गामा रजगज गरेको पाइएको हो । साबिक विराटनगर उपमहानगर पालिका वडा नं. ३ (हाल विराटनगर महानगरपालिका–२ सोमबारे)स्थित कित्तानम्बर ४८ (३ बिघा ३ कट्ठा १ धुर १कनवा) र कित्तानम्बर ७१ (१ बिघा २ कट्ठा ८ धुर) गरी कुल ४ बिघा ५ कट्ठा ९ धुर १ कनवा जग्गा रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले फलफूल उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा पाएको थियो । यसरी उद्योगका नाममा छुट पाएको उक्त जग्गाको मूल्यांकन ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ पर्न आउँछ । तर, तत्कालीन सरकारले ८ करोड ३८ लाख ६२ हजार ५ सय रुपैयाँको मूल्यांकन गरेर बिक्री गर्न अनुमति दिएको पाइएको छ । कम मूल्यांकन गरेर बिक्री गर्न अनुमति दिएपछि अख्तियार दुरुपयोग अनुसान्धान आयोगले विशेष अदालतमा मुुद्दा दायर गरेको छ । विराटनगरको आँपबगैँचाका रूपमा रहेको उक्त जग्गा बिक्री भएपछि त्यहाँ अहिले मोरङ सहकारी अस्पताल, सनातनधर्म सेवा समितिको सामुदायिक भवनसहित दर्जनौँ घर निर्माण समेत भइ सकेका छन् । सरकारी–सार्वजनिक प्रकृतिको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा खरिदबिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री, तत्कालीन मन्त्रीसहित ९७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सरकारी सम्पत्ति हिनामिना गरी नेपाल सरकारलाई हानि–नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो असुलउपर, कैद र जरिवानाको मागदाबी समेत गरेको छ । उक्त जग्गा विभिन्न सङ्घसंस्था, जग्गा कारोबारी, विशालग्रुप, मुन्दडा समूह, तुलसी पोखरेलको परिवार र ४३ जना सर्वसाधारणका नाममा रहेको छ । गैरकानुनी रूपमा कित्ताकाट गरी बिक्री गरिएको भन्दै अख्तियारले जग्गा सरकारी स्वामित्वमा फिर्ता ल्याउने प्रयोजनका लागि हालका जग्गा धनीहरूलाई समेत प्रतिवादी बनाएपछी विराटनगरको औद्योगिक घरानाहरु समेत विवादमा तानिन पुगेका हुन् ।२०६६ माघ २६ गते विराटनगर उपमहानगर पालिकावडा नं. ३ को ४ बिघा ५ कट्ठा९ धुर १कनवा जग्गा ८ करोड ३८ लाख ६२ हजार ५ सयको मूल्यांकन गरेर बिक्री सुरु गरेको थियो । उक्त जग्गामा कारोबारी तुलसी पोखरेल र विष्णु पोखरेल तथा औद्योगिक करिडोरका औद्योगिक घराना विशालग्रुप र मुन्दडा समूहको संलग्नतामा सर्वसाधारणलाई जग्गाबिक्री गरिएको जानकारहरु बताउँछन् । अहिले पनि उक्त जमिन विशाल ग्रुपका सञ्चालक तुलसीराम अग्रवाल, जगदीश अग्रवाल, त्रिलोचन अग्रवाल, अनुज अग्रवाल, दीपकुमार मुन्दडा र तुलसी पोखरेलका परिवारसहित विभिन्न व्यक्तिका नाममा रहेको छ । अझै पनि उनीहरुबाटै उक्त जग्गाको खरिद बिक्री हुने गरेको जानकारहरु बताउँछन् । अख्तियारले पनि उक्त जग्गा खरिद गर्ने जग्गामा संलग्न भएका भनिएका ४३ भन्दा बढी व्यक्ति तथा संस्थालाई सरकारी जग्गा जफत गरी फिर्ता ल्याउने प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
