विराटनगर। औद्योगिक विकास, क्षेत्रीय सहकार्य र व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गर्दै व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीनदिने कोशी कनेक्ट कार्यक्रम सम्पन्न भएको छ ।
गत माघ २ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले एक कार्यक्रमबीच संगठनको प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए । सोही दिन प्रतिनिधिमण्डलले त्रियुगा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा उदयपुरका व्यवसायीसँग बैठक गरी उदयपुरमा उत्पादन हुने वस्तुहरूलाई प्रशोधन उद्योगमार्फत मूल्य अभिवृद्धि गर्दै किसान र उद्यमी दुवैलाई लाभ पुर्याउने विषयमा छलफल गरेको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार उदयपुरमा उद्योग क्लस्टर विकास गर्ने, निजी क्षेत्रको लगानी र ज्ञान भित्र्याउने विषयमा संगठन र संघले आगामी दिनमा संयुक्त रूपमा पहल गर्ने स्पष्ट खाका तयार गरिएको छ ।
कार्यक्रमको दोस्रो दिन माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीय व्यवसायीसँगको बैठकमा खोटाङका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको सम्भावनालाई दृष्टिगत गर्दै होटल तथा होमस्टे विकासमा सहकार्यका विषयमा छलफल गरिएको थियो । साथै खोटाङका उत्पादन र वितरण प्रणालीलाई मजबुत बनाउँदै स्थानीय व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने विषयमा समेत व्यापक छलफल केन्द्रित भएको अध्यक्ष राठीले जानकारी दिए ।
त्यसैगरी कार्यक्रमको अन्तिम दिन माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिसँग आपसी व्यापार सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने तथा पहाड र तराईलाई साझा विकासको दिशातर्फ अघि बढाउने विषयमा छलफल गरिएको थियो ।
कोशी कनेक्ट व्यावसायिक मिशनले अन्तरजिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको पहिचान तथा प्रवर्द्धनमा नयाँ सम्भावनाहरू उजागर गरेको संगठनले जनाएको छ । अभियानका क्रममा स्वदेशी उत्पादनको बजार विस्तार, बी–टु–बी (B2B) प्लेटफर्ममार्फत व्यवसायिक सहकार्य, उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन र आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने विषयमा सहमति र समझदारी भएको जनाइएको छ ।
तीनदिने यस व्यावसायिक भ्रमणमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन कावरा, कोषाध्यक्ष पारस लुनिया लगायत युवा उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो ।
उद्योग संगठन मोरङले औद्योगिक विकास र क्षेत्रीय व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको तीनदिने कोशी कनेक्ट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उदयपुर, खोटाङ र भोजपुरका उद्योग वाणिज्य संघ तथा स्थानीय व्यवसायीसँग उद्योग क्लस्टर विकास, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि र पहाड–तराई साझा विकासका विषयमा छलफल गरिएको छ । यस अभियानले अन्तरजिल्ला व्यापारिक सञ्जाल विस्तार, लगानीका अवसर पहिचान र स्वदेशी उत्पादनको बजार विस्तारमा नयाँ सम्भावना सिर्जना गरेको संगठनले जनाएको छ ।
