विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोमा स्टार्टअप आइडिया पिच कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार आयोजित थिमेटिक सेसनमा सात जना आइडियेटरले आफ्ना स्टार्टअप आइडिया प्रस्तुत गरेका थिए। आइडियाको मूल्याङ्कनका लागि गठित निर्णायक समितिमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरी कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ रहेका थिए।
कार्यक्रममा मोरङका रेवती दाहालले ‘हलो एग्री प्रा.लि.’ को अवधारणा प्रस्तुत गर्दै उपभोक्ता परिवारलाई आवश्यक सम्पूर्ण खाद्य सामग्री आपूर्ति गर्ने आइडिया पिच गरे। पाँच वर्षभित्र देशका सबै महानगरपालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
इलामको सूर्योदय नगरपालिकाका प्रमोद सापकोटाले ग्रिन इनोभेसनमा आधारित, पोलिने रातो इँटालाई विस्थापित गर्ने वातावरणमैत्री प्रविधिबारे प्रस्तुति दिए। उनले बालुवा र माटो प्रयोग गरेर इँटा उत्पादन गर्ने जानकारी गराए।
विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्नसम्बन्धी ‘गफसप’ ब्रान्डको अवधारणा प्रस्तुत गरे। झापाका सिमन ताजपुरियाले ‘गुरुकुल पुस्तकालय डटकम’ नामक प्लेटफर्ममार्फत विद्यार्थीले प्रयोग गरिसकेका र खेर जाने पुस्तक पुनः प्रयोगमा ल्याउने आइडिया पिच गरे। यो प्लेटफर्म पुस्तकप्रेमीहरूका लागि पुस्तक खरिद–बिक्री गर्ने माध्यम रहेको उनले बताए।
मोरङका भिजन प्रताप खत्रीले कृषि क्षेत्रमा आधारित आइडिया प्रस्तुत गरे भने सुगन्ध रेग्मीले फुड एन्ड बेभरेजसम्बन्धी अवधारणा प्रस्तुत गरे। विज्ञान घिमिरेले ‘स्वाद–मित्रताको अड्डा’ नामक भेइकल फुड आइडिया पिच गरे।
त्यसैगरी विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ अध्ययनका लागि आवश्यक सम्पूर्ण पाठ्यसामग्री उपलब्ध हुने एआईमा आधारित कम्प्युटर एप्लिकेसनसम्बन्धी आइडिया साझा गरे।
संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आइडिया प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट २५ छानिँदै अन्ततः १५ जना सहभागी छनोट गरिएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए। प्राप्त आइडियालाई लगानीकर्तासँग साक्षात्कार गराउने उद्देश्य रहेको बताउँदै कार्यक्रमको सहजीकरण ‘आइडिया स्टुडियो’ ले गरेको जनाइएको छ।
विराट एक्स्पोमा दैनिक रूपमा विभिन्न थिमेटिक सेसन सञ्चालन हुँदै आएका छन्। मंगलबारको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले स्टार्टअप इकोसिस्टमको महत्वबारे चर्चा गरे। कार्यक्रममा खजुरी कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले आफ्नो उद्यमशील यात्राका अनुभव साझा गरे।
महर्जनले चीन र भारतले स्टार्टअपमैत्री नीतिका कारण उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै नेपालमा सरकारी फन्ड र नीतिगत सुधारको आवश्यकता औंल्याए। उनले विसं २०४० तिर घरमै सानो बेकरीबाट खजुरीको सुरुआत गरेको स्मरण गर्दै दुर्गम अवस्थाबाट व्यवसाय सुरु गरेको अनुभव सुनाए।
संघले उत्कृष्ट तथा सम्भावनायुक्त आइडियालाई व्यवसायमा रूपान्तरण गर्न सहकार्य र सहजीकरण गर्दै लगानीकर्ता र उद्यमीबीच ब्रिजिङ गर्ने जनाएको छ। यसले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुग्ने संघको विश्वास छ।
कार्यक्रम मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले व्यवसायिक इकोसिस्टमको विकासका लागि यस्ता छलफल महत्वपूर्ण हुने बताए।
कार्यक्रममा डा. मोहन सुवेदीले साना विचारबाटै ठूला र सफल व्यवसाय जन्मिने उल्लेख गर्दै जोखिम उठाएर आफैं सुरुआत गर्नुपर्नेमा जोड दिए। आइडिया स्टुडियोका डाइरेक्टर अफ बिजनेस डेभलपमेन्ट अनिल बस्नेतले देशभरबाट आइडिया संकलन गरी उत्कृष्टलाई व्यवसायको चरणसम्म पुर्याउन सहयोग गर्दै आएको जानकारी दिए।
