विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयाममाथि केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाएर साइबर सुरक्षा, एआई फर आन्त्रप्रेनरसिप, डिजिटल मार्केटिङ तथा ई–कमर्ससम्बन्धी प्रस्तुति र छलफल गरिएको थियो।
साइबर सुरक्षा सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिका फाइदासँगै बढ्दो जोखिमप्रति सचेत गराए। “एआई र सूचना प्रविधिले जीवन सहज बनाएको छ, तर यसको दुरुपयोगले ठूलो क्षति पनि भइरहेको छ,” उनले भने, “आज बन्दुक वा चक्कु बोक्नुपर्दैन, मोबाइल र ल्यापटप भए पुग्छ ठगी गर्न।”
उनले अनलाइन स्क्यामका वास्तविक घटनाहरू उल्लेख गर्दै हरेक वर्ष झण्डै दुई अर्ब रुपैयाँ बराबरको ठगी भइरहेको तथ्यांक सार्वजनिक गरे। “बैंकले कहिल्यै ओटीपी माग्दैन, तर हामी विश्वास गरेर दिइरहेका छौं,” एसपी कटुवालले भने, “राम्रो परिवारका र शिक्षित मानिसहरू समेत ठगीको शिकार भइरहेका छन्।”
सोसल मिडियाबाट सुरु हुने फ्रेन्ड रिक्वेस्ट, भावनात्मक कुराकानी, निजी तस्बिरको दुरुपयोग हुँदै आर्थिक शोषणसम्मका घटनाबारे उल्लेख गर्दै उनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरे। “कसैलाई छिट्टै विश्वास नगर्नुहोस्, पासवर्ड कसैलाई नदिनुहोस्, रिसको झोकमा सामाजिक सञ्जालमा गाली नगर्नुहोस्—साइबर कानुनअनुसार कारबाही हुन्छ,” उनले चेतावनी दिए।
कुनै घटना भए तुरुन्त प्रहरी र अभिभावकलाई जानकारी गराउन आग्रह गर्दै उनले प्रविधिको दुरुपयोगले कानुनी सजाय मात्र नभई जीवनमै गम्भीर दुर्घटना निम्त्याउन सक्ने बताए। यस्तो अवस्थामा नेपाल प्रहरी सधैं सहयोगका लागि तयार रहेको पनि उनले स्पष्ट पारे।
सिल्भर गेट सफ्टवेयर प्रा.लि. का सिईओ करुण थापाले एआई फर आन्त्रप्रेनरसिप विषयमा प्रस्तुति दिँदै व्यवसायमा एआईको प्रयोगबारे जानकारी गराए। “एआईलाई बुझ्ने गरी प्रश्न गरियो भने यसले उत्कृष्ट उत्तर दिन्छ,” उनले भने, “सन् २०२२ मा च्याटजिपीटी सार्वजनिक भएपछि यसको प्रयोग तीव्र रूपमा बढेको छ।”
उनका अनुसार एआईले भर्चुअल असिस्टेन्ट, संगीत तथा भिडियो निर्माण, लोगो डिजाइन, व्यवसाय योजना निर्माण र बजेटिङजस्ता कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। “गुगलजस्ता प्लेटफर्मसँग विशाल डेटा भएकाले जेमिनाइजस्ता टुल अझ शक्तिशाली बनेका छन्,” उनले बताए।
पूर्वाञ्चल विश्वविद्यालयका ईश्वर भण्डारीले डिजिटल मार्केटिङ र ई–कमर्स विषयमा प्रस्तुति दिँदै सामाजिक सञ्जाल नै आजको प्रमुख प्लेटफर्म र पसल बनेको बताए। “पहिले फेसबुकमार्फत सामान बिक्री हुन्छ भन्ने कल्पना पनि थिएन, आज परिस्थिति पूर्ण रूपमा बदलिएको छ,” उनले भने, “यदि अनलाइन कम्युनिटी निर्माण गर्न सकियो भने ठूलो अवसर सिर्जना हुन्छ।”
उनले डिजिटल व्यापार कुनै उमेर वा वर्गमा सीमित नरहेको उल्लेख गर्दै सबैले यसबाट लाभ लिन सक्ने बताए।
कार्यक्रममा विद्यार्थीहरूले एआईको अनुसन्धानमा प्रयोग, टेलिग्राममार्फत आउने विभिन्न अफरलगायत विषयमा जिज्ञासा राखेका थिए। जवाफमा एसपी कटुवालले रातारात धनी हुने लोभमा नपर्न र प्रतिबन्धित वा अविश्वसनीय प्लेटफर्मप्रति सचेत रहन आग्रह गरे।
कार्यक्रमले प्रविधिको सही प्रयोग, आवश्यक सावधानी र सम्भावनाबारे सहभागीलाई महत्वपूर्ण सन्देश दिएको कार्यक्रम संयोजक अनिल शारडाले बताए।
