उद्योग संगठन मोरङले उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापनका सम्बन्धमा छलफल आयोजना गरको छ ।
संगठनको समन्वय र नेपाल बैंकर्स एसोसिएसन तथा जीआईजेट नेपालको आयोजनामा एक दिवसीय छलफल सम्पन्न भएको हो । कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले ऊर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा बैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोगका बारेमा विस्तृतरुपमा छलफल भएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । कार्यक्रममा राठीले ऊर्जा दक्षता केवल ऊर्जा बचत र वातावरणीय दायित्व मात्र नभई उद्योग व्यवसायको दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएको बताए । निजी क्षेत्र र वित्तीय संस्थाहरूले संयुक्तरुपमा काम गर्न सके ऊर्जा दक्षता क्षेत्रमा उल्लेखनीय प्रगतिको सम्भावना रहेको उनको भनाइ थियो ।
कार्यक्रममा वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानीका लागि स्पष्ट नीति, जोखिम मूल्याङ्कन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने कुुरा बताए । उनले बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक भएको र त्यसका लागि उद्योग प्रतिष्ठानले ऊर्जा अडिट गरी संरचनागत परिवर्तनका लागि आवश्यक देखिएको स्थानमा वित्तीय संस्थाबाट आवश्यक प्रक्रिया पूरा गरी लगानी व्यवस्थापन गर्न सक्ने गरी तयारी भइरहेको जानकारी दिएका थिए । जी.आई.जेड/रिपका प्रोग्राम म्यानेजर डा. सञ्जय गोर्खालीले नेपालमा ऊर्जा दक्षता सुधारका लागि वित्तीय संयन्त्रको आवश्यकताको महसुुस गरी जी.आई.जेडले निजी क्षेत्र र बैंकहरूबीचको सहकार्यलाई सुदृढ पार्न नीति तथा प्राविधिक सहयोग गर्दै आएको बताएका थिए ।
संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, कावरा ग्रुुपका विपिन कावराले ऊर्जा दक्षतासम्बन्धी परियोजनाहरूमा लगानी प्रोत्साहन गर्न, नीति र क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, वित्तीय संस्थाका प्रतिनिधि र चार्टर्ड एकाउन्टेन्टहरुको विशेष सहभागिता रहेको थियो ।
