

नेपालीहरुको महान चाड दशैँको आगमनसँगै बजारमा विभिन्न वस्तुहरुको कालोबजारी तथा मूल्यवृद्धि हुन थालेको छ ।
चाडपर्व नजिकिँदै गर्दा कालोबजारी तथा व्यापारीहरुले मनलाग्दीरुपमा उपभोक्ताहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामानको मूल्य बढाउन थालेका छन् । जेन–जीको आन्दोलनका कारण थलिएको यस वर्षको दशैँ सबैका लागि दशाजस्तो लाग्न थालेको अवस्था छ । बजारमा सरकारको उपस्थिति शून्य भएपछि व्यापारीबाट हुने गरेको खुुलेयाम कालोबजारीबाट थप मार पर्न थालेको उपभोक्ताले बताएका छन् ।
चाडपर्व तथा संकट आउँदा व्यापारीहरुले कालोबजारी गरी संकटलाई कमाउने अवसर बनाउँदा नेपालीले दशैँ मनाउने कि नमनाउने भन्ने अवस्था समेत सिर्जना हुुन थालेको छ । जेन–जीको आन्दोलनबाट भर्खरै सास फेर्ने प्रयास गरिरहेको यो संकटमा पनि कालोबजारी गर्नेहरुकै लागि दशैँ आइरहेको भन्ने गुुनासो सर्वसाधारणबाट विराटनगरको बजारमा गर्न थालिएको छ ।
व्यवसायीले चाडपर्वका बेलामा नै महंगी बढाउने तथा कालोबजारी गर्ने गरेकाले सामान्य मानिसहरुका लागि जहिले पनि दशैँ दशा बन्दै आएको छ । फेरि जेन–जीको आन्दोलबाट आफ्नो शाखमाथि उठाउन नसकेको नेपाल प्रहरी र सरकारका कुनै पनि निकायको उपस्थिति बजारमा देखिँदैन । सोही कारण यो संकटको अवस्थामा हुने महंगी, कालोबजारीजस्ता गतिविधि नियन्त्रण गर्नका लागि सरकारको उपस्थिति शून्य नै रहेको छ । बजारमा सरकारको उपस्थिति नहुुँदा यही मौका पारेर व्यापारीले सर्वसाधारण उपभोक्तासँग बढी मूल्य असुल्न थालेका छन् ।
हाल व्यापारीले विभिन्न बहाना बनाएर दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढाउदै गएका छन् । यसरी अहिले सबैभन्दा बढी चाडपर्वको समयमा अत्यधिक खपत हुने वस्तुको मूल्यमा सबैभन्दा बढी मूल्य बढाउने गरिएको छ । जेन–जीको आन्दोलनबाट त्रसित भएको सरकारका नियमनकारी निकायबाट बजार अनुगमन समेत गर्न सकिरहेको छैन । चाडपर्वमा जुत्ता, चप्पल, मोबाइल फोन, कपडा, फर्निचर तथा कोठा सजावटका सामानहरुको सबैभन्दा बढी कारोबार हुने गर्छ ।
यी सामानको मूल्यमा कुनै निश्चितता नै छैन । व्यवसायीले यी सामानमा जति लिँदा पनि भएको छ । यसतर्फ अहिले बजारमा कुनै पनि निकायले ध्यान दिएकै छैन । उपभोक्ताहरु पसलैपिच्छे ठगिने गरेका छन् । हरेक पसलमा फरक–फरक मूल्य रहेका हुन्छन् । व्यवसायीहरुले पाँच हजारदेखि १५ हजारसम्म नाफा राख्ने गरेको पाइन्छ । जसले गर्दा नागरिकले बजारमा भएको कालोबजारी तथा मूल्यवृद्धिको भारबाट छुटकारा अब कहिले पाउने भन्ने प्रश्न उठ्न थालेको छ ।
विराटनगरमा दशैँलाई लक्षित गरी व्यवसायीले स्टक क्लियर गर्न भन्दै हरेक सामानमा भारी छुट दिने गरेका छन् । सडकपेटीका फुटपाते पसलमा समेत चाडपर्वलक्षित छुट अफर सुरु भइसकेको छ । यसरी व्यवसायीहरुले सामान बेचेको कुनै पनि बिल हुँदैनन् । साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विनाबिल सामान समेत बेचिरहेका छन् । यसरी साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विनाबिल सामान बेचिरहँदा सरकारी निकाय मौन छ ।