

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा सह प्राडा. रविराज सिंहले पुन : नियुक्ति भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर सिंहलाई बुधबार जिम्मेवारी दिएका हुन् ।
सर्जन डा. सिंह यसअघि पनि कोशी अस्पतालको मेसुको जिम्मेवारी समालेका थिए । उनले चार महिना बढी कोशीको जिम्मेवारी समालेपछि सिंहको ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई १८ असार, २०८० मा मेसुको जिम्मेवारी दिएको थियो । झाको कार्यकाल एक वर्ष पूरा भएपछि मेसु परिवर्तन गरेको हो ।
यसअघि सिंह गत फागुन २ गते कोशीको निमिक्त मेसु भएर कार्यभार समालेका थिए । उनको कार्यकालमा न्यूरो सर्जरीका जटिल प्रकारको शल्यक्रिया भएर विरामीको सफल उपचार भएको थियो ।
सिंहलाई मेसुमा नियुक्ति भएसँगै झाको सरुवा वीरगन्जको नारयणी अस्पतालमा भएको छ । मेसु डा रविनराज सिंहको कार्यसम्पादन उत्कृष्ट भएको कारण पुन कोशी अञ्चल अस्पतालमा नियुक्त गरिएको मन्त्रालय स्रोतको दावी रहेको छ । उनी यस अगाडि पनी कोशी अस्पतालको मेसुको जिम्बेवारी बहन गरेका अनुभवी र स्वस्थ्य क्षेत्रको कुशल प्रशासक भएको समेत मन्त्रालय स्रोतको दावी छ ।