पल्लव साहित्य प्रतिष्ठान, चितवनको आयोजनामा बर्सेनि हुँदै आएको ‘बृहत् साहित्यिक कुम्भ मेला’ यस वर्ष आगामी भदौ १३ गते नारायणगढस्थित पर्व पार्टी प्यालेसमा आयोजना हुने भएको छ ।
नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने छ जना स्रष्टा तथा द्रष्टालाई समारोहमा ‘पल्लव राष्ट्रिय साहित्य सम्मान—२०८३’ सहित विभिन्न पुरस्कारद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइलो) का अनुसार संस्कृत विधामा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला डा. दिव्यप्रियंवदा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ ।
सम्मानित तथा पुरस्कृत हुनेहरूमा विराटनगरी स्रष्टा नानुमैया दाहाल (मीना-रत्न साहित्य पुरस्कार), स्याङ्जा गल्याङका चण्डिप्रसाद भट्टराई (बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार) र स्याङ्जाकै वालिङका मिलन समीर (शेषनाथ लामिछाने स्मृति बाल साहित्य पुरस्कार) रहेका छन् । त्यस्तै मध्यपुर ठिमी, भक्तपुरकी दूर्गा घिमिरेलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार, बेलकोटगढी, नुवाकोटका शिखरनाथ ढकाललाई काजीमान श्रेष्ठ तथा नन्दकुमारी-सन्तकुमारी श्रेष्ठ रत्न पुरस्कार र गैडाकोट, नवलपुरकी भूमिका गैह्रे तिम्सिनालाई युसुफदिन-हलिमा पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कृत सबै स्रष्टाहरूलाई ‘पल्लव राष्ट्रिय सम्मान—२०८३’ बाट समेत विभूषित गरिने अध्यक्ष लामिछानेले जानकारी दिए ।
देशभरका साहित्यकारहरूको उपस्थिति रहने उक्त समारोहमा ‘नारी स्रष्टा परिचयकोष-२’, ‘पल्लव’ को ३० औँ अंक, छन्द कविता सङ्ग्रह ‘अभीप्सा’ र कथासङ्ग्रह ‘लावण्यस्मृति’ लगायतका कृतिहरूको सामूहिक विमोचन गरिने कार्यक्रम रहेको छ ।
