विराटनगर । मोरङ सुनसरी औद्योगिक करिडोरमा पछिल्लो समय उद्योगका नाममा कागजी रुपमा मुनाफा देखाएर आइपीओ जारी गर्ने होड बाजी चलेको छ ।
करिडोरमा सञ्चालनमा रहेका खराब वित्तीय सूचक भएका केही कम्पनीका लगानीकर्ताहरु आईपीओ जारी गरेर बाहिरिने गरेका छन् । पछिल्लो क्रममा केही रूपैयाँ लगानी गर्ने, सो लगानीका आधारमा बैंकबाट कर्जा लिने, कर्जाको बलमा कम्पनी चलाउने र केही वर्षमा (लकइन खुलेपछि) सोझा लगानीकर्तालाई सेयर बेचेर बाहिरिने क्रम बढेको हो । यसतर्फ सम्बन्धित निकाय सचेत रहनुपर्ने आवाज उठ्न थालेको छ । उत्पादनमुलक क्षेत्रका व्यवसायीले अहिले उद्योगका नाममा लिएको ऋणको ब्याज तिर्न पनि धौधौ अवस्थामा रहेको छ । उद्योगको सञ्चालन नाफाले ऋणको किस्ता पनि नधान्ने बेलामा करिडोरका केही उद्योग आईपीओ जारी गरेर सोझा लगानीकर्तालाई कम्पनी थमाएर बाहिरिने योजनामा रहेको पाईएको छ ।
करिडोरका एक उद्योगिका अनुसार राम्रो कम्पनीका लगानीकर्ता हत्तपत्त आईपीओ जारी गरिहाल्न चाहँदैनन् । ‘प्रतिवर्ष २० प्रतिशत प्रतिफल हुने हो भने पनि एक अर्ब रूपैयाँ लगानी उठ्न पाँच वर्ष लाग्छ । राम्रो बिजनेस गर्ने उद्योगले आपीओबारे सोच्ने गरेका छैनन्’ उनले भने । गतवर्ष मात्रै करिडोरको खनारमा सञ्चालन हुँदै आएको रिलायन्स स्पिनिङ मिलले आईपीओ निष्कासन गरेको छ । यस्तै स्पिनिङ मिलले सेयर निष्कासन गर्नासाथ करिडोरका करिब एक दर्जन अन्य उद्योगहरुले आइपीओका लागि प्रयास थालेका छन् । मोरङको सुन्दर हरैचामा रहेको पीएलओ लुब्रिकेन्ट (पूर्वाञ्चल ल्युब आयल)ले पनि आफ्नो पीएलओको नामबाट आईपीओ निष्कासन गर्ने अन्तिम तयारी गरेको छ । उद्योगका सञ्चालक भोलेश्वर दुुलालले आईपीओ निष्कासनको सबै प्रक्रिया पूरा भइसकेको बताए । अब चाँडै आईपीओ निष्कासन हुने उनको भनाइ छ ।
स्रोतका अनुसार उक्त लुब्रिकेन्ट उत्पादक कम्पनी पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासनका लागि मात्रै सन् २०२६ देखि हालसम्म ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले सन २०२५ मा आफ्नो व्यापार ११.५६ प्रतिशतले बढेर ८९ करोड ८० लाख पुगेको दाबी गरेको छ । कम्पनीले सन २०२४ मा ७८ करोड ७० लाख रुपैयाँमा र सन् २०२३ मा ७७ करोड ४० लाख रुपैयाँ कारोबार गरेको दाबी गरेको छ ।
