विराटनगर । नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचना कार्यक्रमको ४४ औँ श्रृङ्खला भव्यताका साथ सम्पन्न भएको छ ।विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यता तथा बरिष्ठ साहित्यकार बलराम पोखरेल र सङ्गम अभियान मासिकका प्रधान सम्पादक एवम् विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य रामबाबु दाहालको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा विराटनगरकी युवा कवि नानुमैया दाहाललाई नगदसहित सम्मान गरिएको छ।
सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वको बारेमा संस्थाकी सदस्य साहित्यकार शान्ता भट्टराईले समीक्षात्मक ढङ्गले संक्षेपमा चर्चा गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाले नेपाली साहित्यको उन्नयन र विकासमा मोफसलबाट महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै सम्मानित कवि नानुमैया दाहाल उज्यालो भविष्य बोकेर उदाउदै गरेकी नव प्रतिभा भएको बताउनुभयो । विशेष अतिथी बलराम पोखरेलले नोबेल साकोसले निरन्तर रूपमा मासिक श्रृङ्खखला चलाइरहेकोमा संस्था र संस्थासँग सम्बद्ध सबैप्रति बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत श्रृङ्खला निरन्तरताको कामना व्यक्त गर्नुभयो । त्यस्तै अर्का विशेष अतिथी रामबाबु दाहाले सामाजिक रूपान्तरणको पक्षमा प्रगतिशील चेतसहित दह्रिलो कलम चलाउदै आएकी कवि नानुमैया दाहालको कलम निरन्तर चलिरहने विश्वाससहित बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।आयोजक संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालले मोसफलका साहित्यिक संस्थाहरू आपसी सद्भाव, सहकार्य र विश्वासले जटिलताका बाबजुद पनि टिकिरहेको स्मरण गर्दै संस्थाले आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा रहेको धारणा प्रस्तुत गर्नुभयो ।सचिव सुजता राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष भुपाल अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष अनुसन्धाता केशु विरही, अग्रज साहित्यकारहरू भवानी पोखरेल, भिम कोइराला लगायत विराटनगर र आसपासका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
