विराटनगर । सरकारले बन्देज लगाउँदै आएको सुपारी, मरिच र मटरको आयात खुलाउन यहाँका ट्रेडिङ्ग कारोबारीहरू सक्रिय भएको पाइएको छ ।
बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै यहाँका कारोबारीहरू बन्देज लगाइएको वस्तुको आयात खुलाउन लागेका छन् । विगतमा सुपारी, गोलमरिच र केराउको आयात रोकिए पनि भित्री चलखेल र कोटाबाट व्यापार गरिरहेका कारोबारीहरू अब नयाँ एवं उदार सरकारले ट्रेडिङ्ग कारोबारीका लागि पनि आयात खुला गरेर कारोबार पारदर्शी बनाउनुपर्ने लविङमा लागेको स्रोतको भनाइ छ । विराटनगरका ट्रेडिङ्ग कारोबारी खेमचन्द जैन यतिबेला आयात खुलाउन दौडधुप गरिरहेको ट्रेडिङ्ग कारोबारीले नै जानकारी दिएका छन् । विगतमा सरकारले चार कृषिजन्य वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ । २०७७ सालदेखि नै सुपारी, मरिच, केराउ र छोकडामा परिमाणात्मक प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्ध अहिलेसम्म पनि फुकुवा भएको छैन । यही बन्देजलाई फुकुवा गरी स्वार्थ अनुकुलको वस्तु आयात गरेरर मनमौजी कमाउन पल्केका कारोबारीको नेतृत्व गर्दै ट्रेडिङ्ग कारोबारी जैनले प्रधानमन्त्री शाहको सचिवालयमा समेत सुपारी ,गोलमरिच, छकडा र मटर आयातमा लगाइको परिमाणात्मक बन्देज खोल्नका लागि पत्र पठाइसकेको स्रोतको दाबी छ ।
नयाँ प्रधानमन्त्री नियुक्त हुँदैपिच्छे यही परिमाणात्मक बन्देजलाई फुकुवा गर्ने नाममा अवैध रूपमा ठूलो रकमको चलखेल हुने गरेको छ । यो चलखेललाई बुझेर नै सरकारले लामो समयदेखि ट्रेडिङ्गका कारोबारीको व्यापारका लागि यी चारैवटा वस्तुको आयात खुलाएको छैन । विराटनगरबाट सुपारी, गोलमरिच, छकडा र मटरको ट्रेडिङ्ग कारोबारको अग्रपक्ति रहेका चर्चित व्यापारी खेमचन्द जैन र दिनेश राठीको टोलीले ट्रेडिङ्ग उदार अर्थतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भरोसा राखेको छ । रास्वपा झन्डै दुईतिहाइ सिट ल्याएर सरकारमा पुगेको र उदार अर्थतन्त्रका पक्षधर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यसबेलाको सरकारले गरका निर्णयलाई उल्ट्याएर ट्रेडिङ्ग कारोबारलाई सहज बनाउने उनीहरूको अपेक्षा छ । कारोबारीहरूले परिमाणात्मक बन्देजले भ्रष्टाचार र ठगी बढाएको भन्दै अवको नयाँ सरकारले यी चारै वस्तुलाई खुला आयात प्रणाली (ओजिएल)मा लगिनु पर्ने बताउन थालेका छन् । उनीहरूले छिमेकी देश भारतसँगको खुला बजारमा भएको मूल्यसित समायोजन गरी तोकेर चारै वस्तुको आयात खुला गर्न प्रधानमन्त्री र अर्थमन्त्रीको निजी सचिवालयमा पत्राचार गरेको स्रोतको भनाइ छ ।
