विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसनअन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ ।
चैत १२ देखि १६ गतेसम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रिया हुने भएको हो । प्रदर्शनीमा चार दिन चार फरक थिमका ११ वटा सेसनमा छलफल तथा अन्तरक्रिया हुने संगठन अध्यक्ष नन्दकिशोर राठीले बताए । प्रदर्शनीमा थिमेटिक सेसनअन्तर्गत चैत १३ गते शुक्रबार सुरक्षित र सही निर्माण, मापदण्ड, गुणस्तरीय सामग्री तथा जोखिम न्यूनीकरण थिममा घर निर्माण, निर्माण सामग्रीको गुणस्तर जाँच, विद्युतीय सुरक्षा, अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यासलगायत विषयमा छलफल हुनेछ ।
