विराटनगरस्थित सिटिजन्स बैंक इन्टरनेसनलको कञ्चनबारी शाखामा करिब ५ करोड रुपैयाँ घोटाला भएको खुलासा भएको छ। घटनामा १३ जना नक्कली ऋणी खडा गरी सर्वसाधारणको मुद्दती निक्षेप धितो राखेर कर्जा निकालिएको पाइएको छ।
आन्तरिक अडिटमा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ भने २० लाखदेखि १ करोड २५ लाखसम्मका नक्कली ऋण फाइल बनाइएको देखिएको छ।
घटनामा शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य र अपरेसन इन्चार्ज रोजी कँडेललगायतको युजर आईडी प्रयोग भएको भेटिएको छ। कँडेल बर्खास्त भइसकेकी छन् भने अन्य कर्मचारी निलम्बनमा छन्।
प्रहरीले थप उच्च तहसम्म संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ। कँडेलविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भइसकेको छ।
