विराटनगरस्थित एक शैक्षिक संस्थाले शिक्षक सेवा तयारीको नाममा अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै विद्यार्थीबाट शुल्क असुलेको तर कक्षा नदिएको आरोप लागेको छ।पीडित विद्यार्थीहरूका अनुसार उक्त संस्थाले शिक्षक सेवा आयोगको प्रथम र द्वितीय पत्र तयारीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै विद्यार्थीहरूबाट प्रति व्यक्ति चार हजार रुपैयाँसम्म शुल्क लिएको थियो। तर शुल्क लिएपछि कक्षा सञ्चालन नगरी संस्थाले सम्पर्कविहीन भएको उनीहरूको गुनासो छ। विद्यार्थीहरूले अनलाइन कक्षामा सहभागी हुन पटक–पटक माग गर्दा समेत संस्थाले कुनै प्रतिक्रिया नदिएको र अन्ततः कक्षाबाट नै हटाइएको उनीहरूको भनाइ छ। संस्थाका व्यवस्थापक लघिराज थापा नामका व्यक्तिले कक्षा सञ्चालन नगर्ने र शुल्क फिर्ता नगर्ने भन्दै पन्छिने गरेको विद्यार्थीहरू बताउँछन्।सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर भर्ना गरिएका विद्यार्थीहरूलाई कक्षा नदिइ भविष्यसँग खेलबाड गरिएको भन्दै पीडितहरूले गुनासो गरेका छन्। उनीहरूका अनुसार यस्तो गतिविधि केवल आर्थिक ठगी मात्र नभई विद्यार्थीहरूको करियरमाथि नै आघात पुर्याउने खालको छ।

उक्त संस्थाले विज्ञापनमा मोरङको रतुवामाई निवासी डा. तोया अधिकारीलाई मुख्य प्रशिक्षकका रूपमा प्रस्तुत गरेको थियो। डा. अधिकारी विराटनगरका पूर्व शिक्षकसमेत हुन्। त्यसैगरी प्रशिक्षकको सूचीमा उपसचिव मित्र घिमिरे, कर अधिकृत योगेश पन्थी र जनक साह रहेको उल्लेख गरिएको थियो।तर नाम चलेका र अनुभवी प्रशिक्षक देखाएर विज्ञापन गरे पनि विद्यार्थीलाई वास्तविक कक्षामा सहभागी हुन नदिएको भन्दै संस्थाको नियतमाथि गम्भीर प्रश्न उठेको छ। पीडित विद्यार्थीहरूले सम्बन्धित निकायसँग छानबिन गरी आवश्यक कारबाहीको माग गरेका छन्।
