फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रबाट प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) ले मोरङका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नं. १ बाट खड्ग फागो, २ बाट डा. मिनेन्द्र रिजाल, ३ बाट डा. सुनिल शर्मा, ४ बाट गुरुराज घिमिरे, ५ बाट फुलकुमार लालवानी र ६ बाट डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेले मोरङ १ बाट घनश्याम खतिवडा, २ बाट दिलिप बगडिया (अग्रवाल), ३ बाट इरान राई, ४ बाट जीवन घिमिरे, ५ बाट मनोज अग्रवाल र ६ बाट विनोद ढकाललाई उम्मेदवार बनाएको छ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) ले मोरङ १ बाट कुशल लिम्बु, २ बाट चन्द्रवीर राई, ३ बाट देउमान सम्पाङहाङफे, ४ बाट अमनलाल मोदी, ५ बाट शिवकुमार मण्डल र ६ बाट उपेन्द्र राय अमातलाई उम्मेदवार बनाएको छ।
मोरङ क्षेत्र नं. ५ बाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले पनि उम्मेदवारी दर्ता गराएका छन्। सोही क्षेत्रबाट योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो संसदीय निर्वाचनमा योगेन्द्र मण्डल मोरङ ५ बाट विजयी भएका थिए।
२०६२/०६३ सालको मधेस आन्दोलनपछि मोरङ क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी नेपालले दुई निर्वाचनमा उल्लेखनीय जित हासिल गरेको थियो। पहिलो संविधान सभा निर्वाचनमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सो क्षेत्रबाट सानदार जित निकालेका थिए भने त्यसपछिको उपनिर्वाचनमा केन्द्रीय सदस्य जयराम यादव विजयी भएका थिए।
तर दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले उपेन्द्र यादवलाई पराजित गरेका थिए। त्यसयता जनता समाजवादी पार्टी नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव लगातार दुई पटक झिनो मतान्तरले पराजित हुँदै आएका छन्।
यसपटक जितको लक्ष्यसहित राजकुमार यादव पुनः चुनावी मैदानमा उत्रिएका छन्। मोरङ ५ मा नेपाली कांग्रेसका फुलकुमार लालवानी, नेकपा एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल, जसपा नेपालका राजकुमार यादव तथा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस कारण सो क्षेत्रको चुनावी परिणामलाई लिएर विभिन्न अडकलबाजी सुरु भएको छ।
