विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको साधारणसभा आगामी माघमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । उक्त साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने भएकाले यो वार्षिक साधारणसभाले विशेष महत्व राखेकोे छ ।
विराटनगरमा हुन लागेको यो साधारणसभाले पुनः वर्तमान अध्यक्ष राजेन्द्र राउतलाई नै फेरि अर्को एक कार्यकालका लागि अध्यक्षतामा निर्वाचित गर्ने तयारी भित्रभित्रै भएको कुरा बाहिरीएको छ । राउतलाई नै फेरि अध्यक्ष बनाउने तयारीमा आफूहरू लागेको एक जिल्ला अध्यक्षले बताए । उनले भने, ‘हामी कोशी प्रदेशका १४ जिल्लामा रहेको माहासंघका जिल्ला नगर र एसोसिएट्सहरूले संयुक्त रूपमा निर्णय गर्दै अध्यक्षमा पुनः राउतलाई नै निर्वाचीत गरी माहासंघको निर्माणधिन अधुरो भवन निर्माण सम्पन्न गरेर मात्रै उहाँलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशको अविभावकबाट विदा गर्ने तयारी गरिरहेको छौँ ।’
गत वर्षदेखि अध्यक्ष राउतले महासंघको अत्याधुनिक सुुविधा सम्पन्न कार्यालय भवनको निर्माण सुरु गरेका छन् । उक्त भवन दुई कठ्ठा जग्गाको क्षेत्रफलमा निर्माण भइरहेको छ । उक्त निर्माणाधिन भवनमा चालिस लाख उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको लगानी रहेको छ भने, चालिस लाखको जग्गा दाताबाट प्राप्त भएको छ । हालसालै मात्र अध्यक्ष राउतले कोशी प्रदेशबाट एक करोड अनुदान सहयोग ल्याएपछि दोस्रो तल्लाका लागि धमाधम भवन निर्माण भइरहेको छ । ती अध्यक्षका अनुसार यो अवस्थामा कुनै हालतमा पनि अध्यक्ष फेर्न नसकिने अवस्था रहेको छ । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशभित्र नै सबै जिल्ला र नगर अध्यक्षहरूको एउटै भनाइ रहेको उनले बताए ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पनि कार्यकाल दोहोर्याउने विषयमा साथीहरूबाट आफूमाथी व्यापक दबाब आइरहेको बताए । साथै, अध्यक्ष राउतले भवन निर्माण पूरा गर्नुपर्ने दायित्वबाट पछि नहट्ने र सबैको चाहानअनुसार पुनः अध्यक्षमा उम्मेदवार हुन सक्ने बताए । अहिले माहासंघको भवन निर्माण गर्ने काम द्रुत गतिमा चलेको उनले जानकारी दिए । यो आफूले सुरु गरेको काम भएकाले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी भएको हुँदा कोशी प्रदेशका उद्योगी एवं व्यवसायीको हकहीतका लागि यो भवन निर्माणमा अहोरात्र लागि पर्ने उनले बताए । अहिले पदभन्दा पनि महासंघको भवन तयारी गर्नु आफ्नो महत्वपूर्ण काम भएको उनले जानकारी दिए ।
