१५ पुष २०८२, मंगलबार

साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका लागि नीतिगत सुधार र सहज लगानीमा जोड

Logo
news सोमबार, पुष १४, २०८२

विराटनगर। विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि र संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि तथा बजार पहुँचका विविध पक्षमा विचार–विमर्श गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै रोजगारी सृजनाको मुख्य आधार भएको उल्लेख गर्दै यसको संरक्षणबिनाको आर्थिक समृद्धि सम्भव नरहेको बताए। जेन–जी आन्दोलनपछिको शिथिल अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन विराट ट्रेड एक्स्पो प्रभावकारी प्लेटफर्म बनेको बताउँदै उनले भने, “बैंकमा तरलता छ तर ऋण प्रवाह सहज छैन। कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ। उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।”

घिमिरेले ऊर्जा, श्रम, व्यापार तथा बजारसम्बन्धी स्थायी नीतिको अभावले साना तथा मझौला उद्योग समस्यामा परेको उल्लेख गरे। ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको बताउँदै उनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको धारणा राखे। नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा उनले जोड दिए। साथै, कृषि आधारित उद्योग, ऊर्जा क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा कोशी प्रदेशमा प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो।

उदय परियोजनाका ‘रिस्क सेयरिङ लिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगको इकोसिस्टम सुदृढ गर्न समावेशी राजनीतिक र आर्थिक संस्थाको आवश्यकता औंल्याए। “बैंक ऋणबाहेक वैकल्पिक वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न सकेको छैन,” उनले भने। अवधारणामा आधारित उद्यमलाई कोलाटरलबिनासमेत सहजीकरण गर्नुपर्ने र स्टार्टअपको लाइफ साइकलअनुसार सहयोग आवश्यक रहेको उनको सुझाव थियो। प्रविधि, एआई र ग्लोबल बजार पहुँचमा जोड दिँदै उनले सिड मनी र अनुदान प्रणाली अझ व्यवस्थित गरिनुपर्ने बताए।

सरकारले दिने सब्सिडी चाहिने व्यक्तिले नै नपाएको अवस्था रहेको भन्दै उनले इकोसिस्टम बिल्डिङमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। “कन्सेप्टका आधारमा मात्र बैंकले काम नगर्ने भएकाले सरकारी अनुदान प्रणाली अझ व्यवस्थित हुनुपर्छ,” उनले भने।

युवा उद्यमी प्रतीक राउतले देशका करिब ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको उल्लेख गर्दै २०२६ पछि विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा ग्लोबल प्रतिस्पर्धाका लागि ब्रान्डिङ, इमेज बिल्डिङ र सूचना प्रविधिमा लगानी अपरिहार्य हुने बताए। “फिक्स क्यापिटलको आधारमा मात्र एसएमईको परिभाषा बनाउनु उपयुक्त छैन,” उनले भने।

इमेज बिल्डिङ अर्को ठूलो चुनौती रहेको बताउँदै राउतले सूचना प्रविधिमा थप काम गर्न सकिने धारणा राखे। भारत र चीनलाई हेरेर साना तथा मझौला उद्यमको क्षेत्रमा रणनीति बनाउनुपर्नेमा जोड दिँदै उनले निर्यात गर्दा भ्यालु एड गरी ग्लोबल बजारमा प्रतिस्पर्धा गर्ने क्षमतामा ध्यान दिनुपर्ने बताए। “एसएमईलाई केन्द्रमा राखेर नीतिहरू बनाइनुपर्छ,” उनले भने।

उद्यमी अमित शारडाले सकारात्मक सोचले विकासको गति बढ्ने उल्लेख गर्दै पछिल्ला २० वर्षमा धेरै परिवर्तन भए पनि अपेक्षित गतिको विकासका लागि सरकारी सक्रियता आवश्यक रहेको बताए। गुणस्तरीय उत्पादनले निर्यात बढ्ने र नयाँ आइडिया सफल हुन समय लाग्ने उनको भनाइ थियो।

विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पछिल्लो समय सरकार लचिलो र सहजीकरणको भूमिकामा देखिन थालेको बताए। “डिजिटल माध्यमबाट बजार पहुँच सहज भएको छ,” उनले भने, “स्थानीय, प्रदेश र संघीय सरकारले अवसरका ढोका खोल्दै गएका छन्।”

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण, तालिम, प्रविधि हस्तान्तरण र ब्रान्डिङमा प्रदेश सरकारको नीतिअनुसार काम भइरहेको जानकारी दिए। महिलाउद्यमीलाई दर्तामा राजस्व छुट दिइने र बजार मागअनुसार नवीनता सहित उद्यम सुरु गरे सफल हुने उनको भनाइ थियो।

सेसनमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले बीमाको आवश्यकताबारे प्रस्तुति दिएका थिए भने इक्विटी विकासकर्ताहरूको पहलसम्बन्धी छलफल पनि गरिएको थियो।

विराट ट्रेड एक्स्पोले निजी क्षेत्रको व्यापार प्रवर्द्धनसँगै उद्यमशीलता विकासको महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गरिरहेको निष्कर्ष सहभागीहरूले निकालेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१