भारतीय भन्सारले नेपाली प्लाइउड निकासी रोकेको तीन महिना बित्न लाग्दा पनि निकासीको लागि सरकारले कुुनै पहल गरेको छैन । हाल भारतीय भन्सार जोगवनी र मेची भन्सारको भारतीय नाका काँकडभिट्टापारिको पानीटंकीस्थित भारतीय भन्सारले नेपाली प्लाइउड निकासी रोकेर राखेको छ । निकासी रोकिएपछि प्लाइउड उद्योग धरासायी भएको उद्योगीहरुले जानकारी दिएका छन् । भारतीय सरकारको गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने निकाय ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) बाट जारी गर्ने आईएसआई सर्टिफिकेटको अवधि सकिएको भन्दै भारतले नेपाली प्लाइउडको निर्यात रोकेको हो । यस्तो अवरोधले नेपालको निर्यात वस्तु प्लाइउड उद्योगहरू मर्कामा परेको गुुनासो उद्योगिले गरेका छन् । नेपालमा ९० वटा प्लाइउड उद्योगमध्ये आईएसआई प्रमाणपत्र पाएका जम्मा नौवटा उद्योग मात्रै रहेका छन् । ती उद्योगले पनि आगामी एक वर्षको अवधिका लागि मात्रै भारतमा प्लाइउड निर्यात गर्न सक्ने जानकारी उद्योगीले दिएका छन् ।
बीआईएसको आईएसआई प्रमाणपत्र लिनका लागि भारत सरकारलाई नेपाली प्लाइउड उद्योगहरूले आवश्यक दस्तुर तिरिसकेको भए पनि अहिलेसम्म प्रमाणपत्र भारतले पठाएको छैन । देशभरमा ९० वटा जति प्लाइउड उद्योग छन् । तीमध्ये नौवटाले मात्रै बीआईएसबाट अनुमति पाएका छन्, त्यो पनि एक वर्षका लागि मात्रै । विराटनगरको रानी भन्सारपारि भारतको जोगवनी र झापाको काँकडभिट्टापारि पानीटंकीस्थित भारतीय भन्सारले नेपाली प्लाइउड निकासी रोकेर राखेको बारेमा प्लाइउड उद्योगीले संघीय सरकारलाई जानकारी गराइसकेका छन् । उद्योगीका अनुसार नेपालबाट भारतको बीआईएसमा नियमपूर्वक दिनुपर्ने आवेदन दिएर आवेदन स्वीकृति भइसकेको छ । बीआइएसमा जम्मा गर्नुपर्ने सम्पूर्ण रकम समेत जम्मा गरिसके पनि भारतीय पक्षबाट आईएसआई प्रमाणपत्र दिन ढिलासुस्ती भएको हो ।
भारत सरकारले आईएसआई प्रमाणपत्र प्राप्त नभएका र आईएसआई प्रमाणपत्रविनाका कुनै पनि उद्योगका प्लाइउड आयात नगर्न भारत सरकारले १५ मार्च २०२४ मै राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकारलाई जानकारी दिएको थियो । नेपाली प्लाइउड उद्योगका केही उद्योगीले आर्ईएसआई प्रमाणपत्र नभए पनि नक्कली बीएसआई प्रमाणपत्र उल्लेख गरी प्लाइउड निकासी गराउने प्रयास गरेपछि भारतीय भन्सारले नेपालबाट निकासी हुने सबै प्लाइउडमा व्यापक निगरानी थालेको थियो । तर हाल भने नेपाली प्लाइउड निकासी नै ठप्प भएको छ । नेपालबाट भारत निकासी हुने वस्तुहरूमध्ये प्लाइउड दशौँ स्थानभित्र पर्दै आएको छ ।
