२७ आश्विन २०८२, सोमबार

हाकिमको मिलेमतोमा घुमुवा प्रहरी दुवारा तस्करी गर्न दिएवापत करोडौ असुली

Logo
हनुमान कट्वाल सोमबार, आश्विन २७, २०८२

विराटनगर । मोरङ प्रहरीले परिचालन गर्दै आएको घुमुवा प्रहरीको जिम्मेवारीलाई लिएर पछिल्लो समय व्यापक चर्चा सुुरु भएको छ । घुुमुुवा प्रहरीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ, गोप्य सूचना संकलन, तस्करी नियन्त्रणलगायतका कार्य गर्नु हो । तर अहिले मोरङमा त्यसको ठीकविपरीत नेपाल प्रहरीले खटाएका घुमुवाको जिम्मेवारी होटल रेस्टुरेस्ट, क्यासिनो, गीत–गजल, दोहोरीसाँझ, मसाज सेन्टरहरुबाट मासिक असुली गर्ने र तस्करसित साँठगाँठ गरेर लाइन मिलाउने भएको छ ।

पहुँचका आधारमा घुमुवाको जिम्मेवारी पाउने घुुमुुवा प्रहरीको नै मोरङ जिल्लामा रजगज चल्ने गरेको दाबी पनि स्रोतले गरेको छ । मोरङमा घुमुवाको लामो समयदेखि रजगज चल्दै आएको छ । उनीहरूले हाकिमलाई प्रभावमा पारेर एकछत्र कार्य गर्दै आएका छन् । प्रहरीमा घुमुवामा काम गर्ने जवानको लाइफ स्टाइल हेर्दा उनीहरु लामो समय प्रहरी सेवामा काम गरेका प्रहरी अधिकृतजस्तो देखिने गरेको छ । प्रहरी संगठनभित्र हाकिमलाई रिझाउन सके भने उनीहरुको प्रहरीको जागिरे जीवनभर नै घुमुवाकै जिम्मेवारी पाइरहने मोरङका एक प्रहरी अधिकृतले बताए ।

मोरङ प्रहरीको घुमुवाको नेतृत्व प्रहरी निरीक्षक सरोज खनालले गर्दै आएका छन् । उनलाई प्रहरी सहायक निरीक्षक रामविलास यादव, प्रहरी हबल्दारहरू जागेश्वर गोइत, अविनाश राय, गुणराज अधिकारी, प्रहरी सहायक हबल्दार दर्शन थेबे, सुनिल ठाकुर, प्रहरी जवान कार्सिङ भोटेले साथ दिँदै आएका छन् । त्यसमध्ये प्रहरी हवल्दार अविनाश राय विराटनगरको दक्षिणी क्षेत्रमा बढी सक्रिय हुने गरेको कुुरा प्रहरी स्रोतले बताएको छ । यी घुुमुुवा इलाका प्रहरी कार्यालय रानीअन्तर्गत रहेर सीमा क्षेत्रमा बढी केन्द्रित हुने गरेका छन् । उनको मुख्य काम बोर्डरमा बसेर लाइन मिलाउने रहेको छ । उनले रातिको समयमा मोटर पार्ट्स, लत्ताकपडा, भाँँडाकुँडा, खाद्यन्न, इलेक्ट्रोनिक्स सामान, माछा, कुखुरालगायतका तस्करीका सामान ‘स्कर्टिङ’ गरेर सीमा कटाउने गरेको स्रोतले दाबी गरेको छ ।

तस्करसँगको मिलेमतोमा सामान भित्र्याउने रुटमा प्रहरीको गस्तीसमेत नराख्ने गरेको पाइएको छ । स्रोतका अनुसार तस्करीका सामान भित्र्याउने रुटभन्दा फरक रुटमा प्रहरीको गस्ती परिचालन गरिन्छ । बाहिर देख्दा प्रहरीले तस्करी नियन्त्रणमा टाइट गरेजस्तो बनाउने तर सेटिङ मिलाएर भित्र्याउने गरिएको स्रोतले बताएको छ । ‘घुमुवाले अगाडि नै तस्करीका सामान पास गर्ने रुट मिलाइसकेका हुन्छन् ।

त्यसैअनुसार गस्तीको तालिका र रुट मिलाइएको हुन्छ’, प्रहरी उच्च स्रोतले भनाइ छ । मोरङमा हालै सरुवा भएर आएका नयाँ प्रहरी प्रमुख एसपी कवित कटवाललाई समेत गुमारामा राखेर घुमुवाले मोटो रकम उठाइरहेको प्रहरी स्रोतले बताएको छ । घुुमुुवाहरुबाट यसरी रकम उठाउने सबै स्रोत थाहा भएकाले पनि मोरङमा नयाँ आउने हाकिमले समेत पुराना घुमुवालाई चलाउने आँट नगरेको पनि स्रोतको दाबी छ ।

मोरङको मटेरुवा, सुनसरीको सीमाबाट बरगाछी हुँदै, दरैया, रानी, बुधनगर, मझारे, सिजुवा, पोखरिया, कटहरी, सिक्टी, अमाहीबरियाती, रंगेलीलगायतका स्थानबाट नयाँ पुराना गरी ५० जनाभन्दा बढीले मोटर पार्ट्स, कपडा, खाद्यान्नलगायत करोडौँ मूल्य बराबरका सामान तस्करीमार्फत भित्र्याउने गरेको स्रोतको दाबी छ । मोरङ जिल्लाभरिबाट एसपीलाई मात्रै ४० लाखभन्दा बढी मासिक भाग लाग्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार तस्करहरूले लाइनमा पर्ने सबै युनिटका प्रहरी प्रमुखहरूलाई दर्जाअनुसार भाग लगाउने गरेका छन् । यसको सबै चाँजोपाँजो मिलाउने काम घुमुवा प्रहरीमार्फत नै हुने गरेको छ । प्रदेश प्रहरी प्रमुखले समेत छुट्टै घुमुवा परिचालन गरी मोटो रकम असुल गर्ने गरेको दाबी पनि प्रहरीकै विशेष स्रोतले गरेको छ ।

मोरङका घुमुवा प्रहरीको यतिमा मात्रै रजगज सीमित छैन । उनीहरूले होटल, गीत–गजल, दोहोरीसाँझ, स्पा मसाज सेन्टर, क्यासिनोलगायतबाट समेत हप्ता र मासिकरूपमा असुली गर्ने गरेका छन् । गीत–गजल दोहोरीसाँझले प्रहरीलाई मासिक मोटो रकम बुझाउने गरेको स्रोतको दाबी छ । होटल, स्पा, मसाजसहित अन्य व्यवसायबाट पनि प्रहरीले राम्रो रकम असुल्ने गरेको व्यवसायीहरूको भनाइ छ । यसबाहेक इन्धन, गाडी मर्मत, कार्यालय मर्मतलगायतका पनि व्यवसायीहरूसँग प्रहरीले आवश्यक सहयोग लिने गरेका छन् । विराटनगरमा भएका गीत–गजल र दोहोरीसाँझदेखि स्पा र मसाज सेन्टर हरेकबाट २० देखि ३० हजार मासिक संघको नाममा उठाउने गरेको कुुरा स्रोतले बताएको छ । संकलन भएको रकमबाट संघको कार्यालय सञ्चालनका लागि केही रकम राखेर बाँकी रकम संघमार्फत नै प्रहरीलाई बुझाउने गरेको दाबी स्रोतले गरेको छ ।

होटल, रेस्टुरेन्ट, गीत–गजल, दोहोरीसाँझ, स्पा, मसाज सेन्टरहरूमा विकृति फैलिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । ध्वनि प्रदूषण हुने गरी होहल्ला गर्नुका साथै मादकपदार्थ सेवन गरेर अश्लील शब्द समेत प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ । प्रहरीले आँखा चिम्लिदिएपछि अनैतिक कार्यसमेत हुने गरेको स्थानीयको दाबी छ । ‘अनैतिक गतिविधि र विकृतिका बारेमा हामीले पटक–पटक प्रहरीको ध्यानाकर्षण गराइसक्यौं तर सुनुवाई भएको छैन,’ एक स्थानीयले भने, ‘प्रहरीले बेवास्ता गर्नुको पछाडि पक्कै केही न केही स्वार्थ जोडिएको हुनुपर्छ ।’

यस विषयमा जिज्ञासा राख्दा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी ईश्वर कार्कीले सम्बन्धित जिल्लाका एसपीलाई घुमुवाहरूको नामसहित आएका गुनासाका बारेमा जानकारी दिन उल्टै पत्रकारलाई आग्रह गरे । ‘प्रदेशका सबै जिल्ला तपाईंकै क्षेत्राधिकार पर्छ नि ?’ भन्ने प्रश्नमा डीआईजी कार्कीले भने, ‘मलाईभन्दा सम्बन्धित जिल्लाका एसपीलाई बढी थाहा हुन्छ, तपाईंसँग भएका जानकारी के छन्, घुमुवाहरूको पनि नाम होला, सम्बन्धित जिल्लाका एसपीहरूलाई भन्नुहोला नि है ।’ यसरी डीआईजी कार्कीले भनेअनुसार नै मोरङका एसपी कवित कटवाललाई सम्पर्क गर्दा उनले भने विगतमा भएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘विगतमा के भयो मलाई जानकारी छैन । अब भने त्यस्तो केही हुँदैन ।’ प्रहरी संगठनको बदनाम गर्नेगरी कुनै प्रहरी कर्मचारीले काम गरेमा संगठनको नियमअनुसार कारबाही हुने भन्दै उनले स्पष्ट पारे । उनले घुमुवाका नाममा आपराधिक गतिविधिमा संलग्न व्यक्ति र तस्करलगायतसँग मिलोमतो गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।

‘घुमुवासुमुवा अब केही हुँदैन, सिभिलमा कार्यालयले खटाउँछ उनीहरूलाई जे कामका लागि खटाएको हो । त्यो बेलुका आएर रिपोर्टिङ गर्नुपर्छ । घुमुवाका नामबाट हुने प्रहरी संगठनको बदनामी अब हुँदैन,’ एसपी कटवालले भने, ‘म आइसकेपछि गलत गर्ने केही प्रहरी कर्मचारीलाई समेत कारबाही गरिसकेको छु ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१