
विराटनगर । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको जानकारी प्राप्त भएको छ । समाचार स्रोतका अनुसार झगडामा परेर अन्य सुरक्षाकर्मीसमेत घाइते भएको पाइएको छ । प्रहरीले भने आफ्नो संगठन भित्र भएको घटना भन्दै गुपचुक राख्न खोजेको आशंका गरिएको छ । समाचार स्रोतका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका एक साताअघि साँझ होटलमा खानपिनका लागि सहभागी भएको पाइएको छ ।
त्यहाँ खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छन् । सुरुमा प्रहरी निरीक्षक राजन लम्सालले निरीक्षक खनाल र खड्कामाथि हातपात गरेको बुझिएको छ ।अवस्था बिग्रिएपछि खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिट बोलाएका थिए । तर, स्थिति नियन्त्रण गर्न पुगेको टोलीमाथि समेत लम्सालले आक्रमण गरेको पाइएको छ । जाड खाएर कुटाकुट गरेका प्रहरी अधिकारीहरुलाई कारबाही गर्नुको साटो समाचारलाई गुपचुक राख्नुलाई रहस्यमय मानिएको छ ।