विराटनगर,बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । कम्पनीका ब्राण्ड म्यानेजर बसन्तमान श्रेष्ठका अनुसार सरकारले घोषणा गरेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बाढी प्रभावितहरुका लागि एक लाख प्याकेट रमपम तयारी चाउचाउ, एक लाख प्याकेट गुडलाइट बिस्कुट र एक लाख प्याकेट गुलाइट जुस उपलब्ध गराउने भएको हो ।
उनका अनुसार कम्पनीले राहतस्वरुप ६० लाख भन्दा बढीको सामग्री उपलब्ध गराउन लागेको हो । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत घोषणा गरिएको ब्राण्ड म्यानेजर श्रेष्ठले बताए । बाढी पहिरोलगायत विपत्तिका बेला सबैले हातेमालो गर्नुपर्ने उनले बताए । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहितका जिल्लाहरु प्रभावित भएका छन् । बाढी प्रभावित नागरिकहरुको उद्धार र राहतका लागि अहिले विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् । यस बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।
