

विराटनगर,विराटनगर महानगर– पालिकाका मेयर नागेश कोइरालाले महानगरभित्रका एक दर्जन ठूला योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् । महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर कोइरालाले बहुवर्षीय योजनाअन्तर्गतका एक दर्जन बढी योजनाहरूको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।
यस्तै, उनले महानगरमा आफू निर्वाचित भएपछि भौतिक संरचनाको विकासले गति लिएको दाबी गरे । सीमित स्रोत र साधनको बाबजुद समेत आफूहरूले महानगरवासीको असीमित चाहना पूरा गर्न लागि परेको उनको भनाइ थियो । कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदा समेत महानगरवासीले आफूलाई जस नदिने गरेको गुनासो समेत गरे । कार्यक्रममा मेयर कोइरालाले बहुवर्षीय योजनाअन्तर्गत १७ करोड १३ लाख रुपैयाँको लागतमा प्रधानमन्त्री पार्क निर्माण भइरहेको बताए । सात जना पूर्वप्रधानमन्त्रीको शालिकसहित निर्माण भइरहेको प्रधानमन्त्री पार्कको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए । त्यस्तै, तीन करोड ९८ लाख रुपैयाँको लागतमा विराटनगर–दुईमा सन्ध्याकालीन आरतीस्थलको निर्माण ८० प्रतिशत, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको सुविधासम्पन्न प्रशासनिक भवन ५० प्रतिशत, विराटनगर–१४ मा बहुवर्षीय योजनाअन्तर्गत छ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रानीपोखरीसहित हरियाली पार्कको काम ७० प्रतिशत र सात करोड ३७ लाख रुपैयाँको लागतमा विराटनगर–१४मै निर्माण भइरहेको मण्ठापोखरीको काम पनि ६५ प्रतिशत सम्पन्न भइसकेको बताए ।
त्यसैगरी एक करोड ३२ लाख रुपैयाँको लागतमा जीर्णाेद्वार भइरहेको पुष्पलाल चोक सडकको पनि ८० प्रतिशत काम सकिएको र विराटनगर–२ स्थित त्रिभुज मार्गको काम ७० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । त्रिभुज मार्गको निर्माण लागत तीन करोड ३८ लाख रुपैयाँ रहेको उनले बताए । छ करोडभन्दा बढीको बहुवर्षीय योजनाअन्तर्गत विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोक पश्चिमको नाला र कल्भर्ट निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको मेयर कोइरालाले बताए ।
बहुवर्षीय योजनाअन्तर्गतको १२ करोड लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको भन्दै उनले बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन भइरहेका सबै ठूलो परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको दाबी गरे ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले बजार अनुगमनलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेको दाबी गरिन् । उनले न्यायिक समितिमा परेका उजुरीका विषयमा छानबिन गरी छिटो र छरितोरूपमा न्याय सम्पादन गरिरहेको जानकारी दिइन् । समितिले प्रभावकारीरूपमा काम गर्दा धेरै विवाद सहजरूपमा निरुपण हुने गरेको उनले बताइन् । यसबाट विवाद नमिलेर महानगरवासीले अदालत पुग्नुपर्ने बाध्यता कम भएको उनको भनाइ थियो ।