

विराटनगर।मोरङ उद्योग व्यापार संघले आफ्ना शाखाहरूसँग व्यावसायिक छलफल गरेको छ । संघका अध्यक्ष अनुपम राठीले मोरङमा रहेका आफ्ना नौ वटा शाखाहरूसँग भेटघाट गरी व्यावसायिक छलफल गरेको जानकारी दिए ।उत्तरी मोरङमा रहेको लेटाङ उद्योग वाणिज्य संघको संयोजकत्वमा लेटाङमा आयोजित छलफल कार्यक्रममा पूर्वमन्त्री डिकबहादुर लिम्बुसहित संघका निर्वतमान अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्य र युवा उद्यम समितिका संयोजक र नौ वटै शाखाका अध्यक्ष पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी अध्यक्षहरूले आ–आफ्नो क्षेत्रमा व्यवसायीहरूको नापतौलसम्बन्धी समस्याहरू समाधान गर्न कठिनाइ रहेको, आयकरलगायत राजस्वसम्बन्धी समस्याहरू भोग्दै आइरहेको, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय धारासायी रहेको, व्यवसाय गर्ने सटरहरू खाली हुँदै गइरहेको लगायतका समसामायिक विषयहरूमा छलफल गरेका थिए । साथै, समस्या समाधानका लागि उद्योग व्यापार संघका अध्यक्ष अनुुपम राठीलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा संघका शाखाहरू, उर्लाबारी उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, सुन्दर हरैचा उद्योग वाणिज्य संघ, रंगेली उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, मिक्लाजुङ व्यापार प्रबन्ध समिति, बेलबारी उद्योग वाणिज्य संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको संघद्वारा विज्ञप्तिमा उल्लेख छ ।