

विराटनगर । विराटनगरमा व्यापारिक कारोबारीबाट सरकारलाई बुझाउने राजस्व छल्नका लागि विभिन्न उपायहरू अपनाउने गरेको पाइएको छ । यहाँका व्यापारीहरू नयाँ–नयाँ उपाय निकालेर राजस्व छलीमा सक्रिय रहेका छन् ।केहीदिन अगाडि हार्डवेयर तथा मार्बललगायतको कारोबार गरेर राज्यलाई अर्बौं रुपैयाँ राजस्व ठगी गरेका सौरभ बिहानी अहिले कारागारमा पुुगेको घटना सेलाउन नपाउँदै विराटनगरको मेनरोडमा सञ्चालन हुँदै आएको न्यु सञ्जय ट्रेडर्सले समेत राजस्व छली गरेको खुलेको छ । सो ट्रेडर्सका व्यवसायीले आफ्नो फर्मबाट १५ लाखभन्दा कमको व्यापारिक कारोबार देखाएर डेवानअन्तर्गत वार्षिक पाँच हजार मात्रै राजस्व बुझाएर कारोबार गरेको पाइएको छ । न्यु सञ्जय ट्रेडर्सले एउटा फर्मबाट न्युन कारोबार देखाएर व्यापारिक कारोबार गर्दै आएकोमा राजस्व ठगीको रहस्य खुल्ने त्रासका कारण एकाध सगोलकै अर्को व्यक्तिको नाममा छ वर्षपछि पुनः अर्को फर्म दर्ता गरी कारोबार गरेको नयाँ तथ्य खुलेको छ ।
हाल राजस्वले उक्त फर्मको कारोबारमा अनुसन्धान थालेको छ । स्रोतका अनुसार २०५९ साल असोजमा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३०११८७१९० नम्बरमा दर्ता कायम रहेको न्यु सञ्जय ट्रेडर्सले आफ्नो कारोबार लामो समयदेखि पान नम्बरकै भरमा सञ्चालन गर्दै आएको छ । उक्त फर्मको नाममा कारोबार बढ्दै गएपछि राजस्व ठगीको रहस्य खुल्ने त्रासका कारण सञ्चालकले छ वर्षपछि अर्को फर्म दर्ता गरी कारोवार गरेर राजस्व ठगी गरेको आशंका स्रोतले गरेको छ । न्यु सञ्जय ट्रेडर्सका सञ्चालक सजय कुमार बैद विगत १० वर्षदेखि भारतको हरियाणामा व्यापार गर्दै आएका छन् ।
विराटनगरमा व्यापारिक कारोबार भने उनका दाजु अजय बैदले सञ्चालन गर्ने गरेका छन् । भाइ पनि नभएको अवस्थामा व्यापारिक कारोबारको रहस्य खुल्ने त्रासका कारण सञ्चालक अजय बैदले शान्ता बैदको नामबाट श्री बासुकी इन्टरप्राइजेजको नाममा फर्म दर्ता गरी २०६५ साल चैत्रमा ३०३३२४९७३ को भ्याट दर्ता गरेको देखिएपछि उक्त फर्म र कारोबारले नयाँ नयाँ तथ्यहरू खोल्न थालेको राजस्व स्रोतले बताएको छ । निर्वाधरूपमा छ वर्षसम्म करोडौंको काम गरेर पनि वार्षिक १५ लाखभन्दा कमको कारोबारी विवरण बुझाउँदै आएका बैदले विराटनगरसहित कोशी प्रदेशभरि नै आफ्नो कारोबारको सञ्जाल बनाएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात हुँदै आएको काजु, किसमिस, बदामलगायत ड्राइफुड्सको इम्पोर्ट गर्दै आएका बैदले सरकारलाई कौडीको राजस्व बुझाएर करोडौंको मुनाफा कमाएको स्रोतको दाबी छ । बिक्री नै कम देखाएकाले आयकर समेत नलाग्ने निश्चित भएपछि खुलेयाम व्यापार गर्दै आएका बैदलाई अब आन्तरिक राजस्व कार्यालयबाट मिसम्यासमा कारबाही अगाडि बढाएर राजस्वको दायरामा ल्याउनेबाहेक अर्को विकल्प समेत नभएको स्रोतले बताएको छ । बैदले दुई फर्म दर्ता गरी एउटा फर्मलाई घाटा देखाएर अर्को फर्ममार्फत एक करोडभन्दामाथिको कारोबार मात्र देखाएपछि उच्च निगरानीमा परेको हो ।