११ आश्विन २०८३, आइतबार

कोशी प्रदेशको लगानी सम्मेलन:४६ परियोजनामा एक खर्ब ५२ अर्बको प्रतिबद्धता

Logo
news आइतबार, बैशाख २१, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । ती परियोजना सञ्चालन गर्न सरकार र लगानीकर्ताबीचमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’को शुक्रबार समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेश लगानी प्राधिकरण र लगानीकर्ताका बीच भएको सम्झौताअनुसार ४६ वटा परियोजना सञ्चालन गर्न एक खर्ब ५२ अर्ब बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइराला र लगानीकर्ताले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्मेलनमा कोदोको रक्सी उद्योग, व्यावसायिक कृषि फार्म, कृषिमा आधारित उद्योगहरू, बेसार प्रशोधन, छुर्पी उत्पादन, कफी उत्पादन, जैविक मल उत्पादन, एग्रो टुरिजम र पर्यटन क्षेत्र विकाससम्मका परियोजनाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाइएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिसम्बन्धी आठ, ऊर्जासम्बन्धी तीन, उद्योगसम्बन्धी १२, पूर्वाधारका नौ, सूचना प्रविधिका दुई, पर्यटनसम्बन्धी १० र फोहरमैला व्यवस्थापनसम्बन्धी दुई वटा परियोजनाका लागि सहमतिपत्रमा सम्झौता भएको हो । निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ ।

लगानी सम्मेलनमा लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा पहिलो हस्ताक्षर गरेका थिए । त्यसैगरी टर्मरिक प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टर बराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड रुपैयाँ लगानीमा बेसार उत्पादन तथा प्रशोसन परियोजना, गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड, कुसुम दाहालले ८० करोड लगानीबाट एड्भान्सिङ नेप्लिज टि एन्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उद्योगी नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रुथ फार्मिङ एन्ड एग्रो टुरिजम, विष्णु अग्रवालले किबी फार्मिङ एन्ड प्रोसेसिङ इन्डस्ट्रिजका तर्फबाट ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इन्डस्ट्रिज एन्ड एग्रो टुरिजममा लगानी गर्ने प्रतिबद्धता पत्रमा सम्झौता गरेका थिए । त्यसैगरी उद्योगी पवनकुमार सारडाले एक अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने, उदयपुरमा राजेन्द्र श्रेष्ठले पाँच अर्ब ६० करोड लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट, संखुवासभामा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट एक सय ४२ करोड लगानी गर्ने सम्झौता गरेका छन् ।

त्यस्तै, प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति वायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले एक सय १६ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । लगानी सम्मेलनमा नयाँ परियोजनाको रूपमा कोदाको रक्सी प्रोजेक्टले प्रदेश सरकारसँग लगानी सम्झौता गरेको छ । कोदोको रक्सी बनाउनले परियोजनामा सोलुखुम्बु तिलिचो पिक फुड एन्ड ड्रिङ्क प्रालिका जनक राईले ४० करोड लगानी गर्ने सम्झौता गरेका छन् । तर कोदोको रक्सी उत्पादन गर्न आवश्यक कानुन निर्माण नभइसकेको छैन । कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा ७४ वटा परियोजना सोकेसमा राखेको थियो । त्यसमध्ये ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता जुटेको कुुरा कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

लगानी सम्मेलन समापन कार्यक्रममा मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनमार्फत प्रदेश सरकार नयाँ युगमा प्रवेश गरेको बताए । प्रदेशको समग्र विकासका लागि निजी क्षेत्र र विदेशी लगानी भित्र्याएर आर्थिक वृद्धि, रोजगारीका अवसर सिर्जना र राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्ने महसुस गरेअनुसार लगानी सम्मेलनको आयोजना गरिएको उनले जानकारी दिए । सम्मेलन सफल भएको उनको दाबी थियो । मुख्यमन्त्री कार्कीले लगानीका क्रममा आइपर्ने प्रदेश र सङ्घीय नीतिगत, कानुनीलगायत बाधा हटाउने प्रतिबद्धता समेत जनाएका थिए ।

कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टले प्रदेशमा लगानीमैत्री कानुन निर्माण गर्न सबैको सहयोग अपरिहार्य रहने बताएका थिए । आन्तरिक मामला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै लगानीकर्ताको परियोजना २१ दिनभित्रमा सम्झौता सम्पन्न गरिने जानकारी दिए । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्राकृतिक सम्पदासहित विभिन्न जातीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गरी लगानी भित्र्याउन सुझाव दिएका थिए । भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेशका सम्पूर्ण दलहरू विकासका पक्षमा एकजुट रहेको बताए । चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवासीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुङ्गानालगायत वक्ताले कोशी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१