विराटनगर, विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लास्टिकको बन्दुक विराटनगर भन्सारले आवश्यक कारबाहीका लागि मोरङ प्रहरीलाई बुझाएको छ । केटाकेटीका लागि खेलाउनाका रुपमा प्रयोग हुने भन्दै प्लास्टिक गन भनी भन्सार प्रज्ञापनपत्रमा उल्लेखै गरेर भन्सारमा जाँचपासका लागि आए पनि विराटनगर भन्सारले प्रहरीलाई बुझाएको हो । प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले उक्त खेलाउना प्रहरीलाई जिम्मा लगाएको जानकारी दिए । मोरङ प्रहरीले पनि आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
भन्सारस्रोतका अनुसार यो खेलौनाको विषय सामान्य नै भए पनि खेलौनामा चेतावनीपूर्ण विवरणमा उल्लेख भएकोले प्रहरीलाई जिम्मा लगाइएको हो । उक्त खेलौना बन्दुकमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख भएका कारणभन्सार जाँचपास नगरी मोरङ प्रहरीलाई बुझाएको कुरा बताइएको छ । त्यसपछि भन्सारमा उक्त खेलौनाको भन्सार जाँचपास कसरी गर्ने भन्ने प्रश्न सिर्जना भएको छ ।
