

विराटनगर । पछिल्लो समय विराटनगरको गैरभन्सार नाका हुँदै ल्याब परीक्षण नगरिएको खाद्यान्नको आयात बढेको छ । ल्याब परीक्षण नै नभई खाद्यान्न भित्रिन थालेपछि उक्त खाद्यान्नको प्रयोगले ठूलो महामारी निम्तन सक्नेतर्फ ध्यान दिन सरोकारवालाहरूले आग्रह समेत गरेका छन् ।
उपभोक्ताले सिधै प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफूल काजु, बदामलगायतका वस्तु सस्तोका नाममा व्यापारीहरूले भारतीय बजारबाट खरिद गरी खाद्य परीक्षण नै नगरी सोझै भित्र्याउने गरेका छन् । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पूरा भएर भन्सार कार्यालयमार्फत भित्रिनुुपर्नेमा सस्तोका नाममा केही सेटिङका व्यवसायीले सोझै विराटनगर बजारमा त्यस्ता खाद्य वस्तुको क्वारेन्टिन जाँच पनि नगरी रातारात भित्र्याउने गरेका छन् । सरकारले सञ्चालन गरेको क्वारेन्टिन कार्यालय र खाद्य परीक्षण कार्यालय भन्सारमा भए पनि उनीहरूले परीक्षण बेगर नै पैसा दिएर खाद्य रिपार्ट बनाउने गरेको स्रोतको दाबी छ ।
सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि विराटनगर रानी नाकामा रहेको पुुरानो भन्सार कार्यालयमा प्रमाणीकरण कार्यालय स्थापना गरेको छ । भन्सार नजिकै रहेको सो खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले वस्तुको ल्याबटेस्ट गर्ने व्यवस्था गरिएको छ । तर त्यस्ता वस्तु सो कार्यालयमा जाँच नभई बिचौलियाहरूले दुुईदेखि तीन घण्टाको फरकमा ल्याब रिपोर्ट दिने र सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको स्रोतको दाबी छ । तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत पनि खाद्यान्नको गुणस्तर परीक्षण नै नभई सोझै भित्रिने गरेको छ ।
भन्सार विभागले जारी गरेको एकद्वार प्रणालीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के–कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ । तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ । तर हाल उपभोक्ताले सिधै प्रयोग गर्ने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चिया, फलफूललगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परीक्षण नै नभई सोझै व्यवसायी र सुुरक्षा निकायसँग सेटिङ गरी धमाधम विराटनगर बजार आउने क्रम व्यापक बढेको छ ।