विराटनगर । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपैयाँ बराबरको हाइजिन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र आवश्यक राहतको कामना गरेको छ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ७० लाख रुपैयाँ बराबरको व्यक्तिगत तथा घरायसी हाइजिन सामग्री उपलब्ध गराउने कम्पनीले जनाएको छ।सरसफाइको अभावका कारण सङ्क्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै साबुन, डिटर्जेन्टलगायत अत्यावश्यक हाइजिन सामग्री प्रभावित परिवारलाई राहतस्वरूप उपलब्ध गराइने कम्पनीले जनाएको छ। देवनारा ग्रुप–जाजू ग्रुपअन्तर्गतको हिमगिरि हाइजिन लिमिटेड विराटनगरले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ। साथै राहत, उद्धार तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित निकायप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ।
