नेपाल भारतका बीचमा रहेको खुला सीमानाकाबाट कपडालगायत सटिङ्ग सुटिङ्गको अवैध आयात फेरि सुचारु भएको छ । सीमा सुरक्षाको जिम्मेवारी बोकेर बसेको सशस्त्र प्रहरी बलको वीओपीले नाकाबाट हुँदै आएको तस्करी नियन्त्रणमा ध्यान दिन नसकेपछि अवैध आयातको धन्दा चलाउने खुलेआम तस्करी गर्न थालेका हुन् ।
पछिल्लो समय बालेन्द्र साहको नेतृत्वमा सरकार बनेसँगै नेपाल प्रहरी तस्करी नियन्त्रणका लागि निकै सक्रिय बन्दै गएको देखिन थालेको छ । केही समय यतादेखि प्रहरीले तस्करी भई विराटनगर भित्रीएका कपडालगायतका विभिन्न सामान पक्राउ गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सारमा बुझाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीका सामग्री पक्राउ गरेको सार्वजनिक गर्न थालेको हो । तर भन्सार चोरी निकासी नियन्त्रणका लागि विराटनगर जुट मिलको भवनमा स्थापना गरिएको सशस्त्र प्रहरीको वीओपीले तस्करी नियन्त्रणमा कुनै चासो देखाएको छैन । सशस्त्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेपछि पछिल्लो समय बदनाम जस्तै बन्न पगेको छ । हाल खुलासीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि नेपाल प्रहरी धेरै अगाडि आउन थालेको स्थानिय बताउँछन् । गत मंगलबार मात्रै नेपाल प्रहरीले अवैध रूपमा भारतीय बजार जोगबनीबाट तस्करी गरी ल्याएको करिब दुई लाख १२ हजार मूल्य बराबरको सामान बुढीगंगा गाउँपालिका वडा नम्बर ४ स्थित नेमुवा चौकमा पक्राउ गरेको हो ।
पछिल्लो समय नेपाल प्रहरी तस्करी नियन्त्रणमा सक्रिय हुँदा नेपाल भारत खुला सीमानाकाबाट हुने तस्करी र भन्सार राजस्व चोरी नियन्त्रणको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको वीओपी कतै कपडा तस्करीका लागि सहज बातारण बनाउन लागि परेको त छैन ? भन्ने प्रश्न पनि उब्जिन पुगेको छ । नेपाल र भारत बीचको खुला सीमानाकामा रहेको सशस्त्र प्रहरीको वीओपीसमेत मूकदर्शक बन्न थालेपछि विराटनगरसँग भारतीय सीमा जोडिएको दरैया, मटेरुवा, इस्लामपुर नाका राति–राति सेटिङ्गमा तस्करीका लागि उर्वर नाका बन्न थालेको छ । यी नाकाबाट हुुने अवैध कारोवारलाई वैधता दिनका लागि विराटनगर माहानगर पालिका वडा १२ र वडा १६ मा रहेको सशस्त्र प्रहरीको वीओपी पोस्टले तस्करी नियन्त्रण नगरी कारोबारीहरूलाई सहयोग गर्ने गरेको स्रोतको दाबी छ । उक्त वीओपी पोस्टहरूमा एउटामा सशस्त्रका सइ र अर्कोमा इन्सपेक्टरको दरबन्दि रहेको छ । तर उनीहरूले तस्करी नियन्त्रण गर्न सकेका छैनन् । यो सबैको कमान्डिङ्ग सशस्त्रका प्रहरी ३ नम्बर हेडक्वाटर गण टंकीसिनवारी मोरङबाट सशस्त्र प्रहरीका उपरिक्षकले गर्ने गरेका छन् ।
