पाँचथर जिल्लामा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ।
`स्थानिय स्रोतको उपयोग,स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्दता´ भन्ने मुल नाराका साथ कोशि प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानवहादुर लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको स्वास्थ्य सुरक्षा, रोगको रोकथाम तथा स्वस्थ समाज निर्माणका लागि खोप कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको विषयमा जोड दिइयो। विश्व स्वास्थ्य संगठनका अनुसार खोपका कारण प्रत्येक वर्ष लाखौँ बालबालिकाको जीवन जोगिने गरेको उल्लेख गरिएको छ। नेपालले पनि राष्ट्रिय खोप कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गर्दै बालस्वास्थ्य सुधारमा महत्वपूर्ण प्रगति गरेको बताइएको छ।
नेपालमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बालबालिकालाई १४ प्रकारका रोगविरुद्ध खोप प्रदान गरिँदै आएको छ। हाल BCG, OPV, IPV, Pentavalent, PCV, Rotavirus, Measles-Rubella र JE लगायतका खोप नियमित रूपमा उपलब्ध गराइँदै आएको छ। यी खोपहरूले क्षयरोग, पोलियो, डिप्थेरिया, टिटानस, हेपाटाइटिस–बी, निमोनिया, दादुरा लगायतका गम्भीर रोगबाट बालबालिकालाई सुरक्षित राख्न मद्दत पुर्याएका छन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार देशमा १२ महिनाभित्रका करिब ८० प्रतिशत बालबालिकाले सबै आधारभूत खोप प्राप्त गरेका छन्। तर अझै केही बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको अवस्था भएकाले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण नेपालले सन् २०१४ मा मातृ तथा नवजात टिटानस उन्मूलन, सन् २०२० मा दादुरा–रुबेला नियन्त्रणतर्फ उल्लेखनीय प्रगति तथा सन् २०१४ देखि पोलियोमुक्त देशको अवस्था कायम राख्न सफल भएको जानकारी दिइयो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चित गर्न छुटेका बालबालिकाको पहिचान तथा नियमित अनुगमन, खोप सेवाको गुणस्तर र पहुँच सुधार, कोल्ड चेन व्यवस्थापन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा समुदायमा देखिने खोपसम्बन्धी भ्रम र हिचकिचाहट हटाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
यस अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा खोपको महत्त्वबारे जनचेतना फैलाउन, छुटेका बालबालिकाको पहिचान गर्न तथा अभिभावकलाई खोप कार्यक्रममा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरिएको थियो।
कोशी प्रदेश सरकारले बालस्वास्थ्य सुधारका लागि खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र आगामी दिनमा पनि खोपको पहुँच विस्तार, गुणस्तर सुधार तथा दिगोपना सुनिश्चित गर्न आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको सफल आयोजनामा सहयोग गर्ने सबै निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको छ।
