विराटनगर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विराटनगरका उद्योगी तथा व्यवसायीलाई कुनै पनि राजनीति दलले समेट्न नचाहेको यहाँका उद्योगी र व्यवसायीहरूले बताउन थालेका छन् ।
विराटनगरका धेरै उद्योगी व्यवसायीहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने होडमा थिए । तर केही सिमित उद्योगी व्यवसायी मात्रै निर्वाचनमा उम्मेदवार बन्न सफल भए । राजनितिक दलले उम्मेदवार बनाएकाहरूलाई पनि जनताले मत भने दिएनन् । उद्योग संगठन मोरंगका निवर्तमान अध्यक्ष राकेश सुरानालाई डा. बाबुराम भट्टराईको प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीले समानुपातीकको बन्द सूचीमा राखेको थियो । तर सो पार्टीले आफ्नो अस्तित्व नै जोगाउन नसकेपछि सुराना पनि हिस्स परेका छन । मोरङ क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट मनोज अग्रवाल, मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट डा सुनिल शर्मा, सोही क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट सुशील अटल उम्मेदवार बनेपनि उनीहरू पराजित हुन पुगे । सुनसरी मोरङ औद्योगिक करिडोरबाट देशमा परिचीत विराटनगरको आर्थिक क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाएका र मुलुकको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेका दर्जनौं ‘कर्पोरेट’ अनुहारहरू यसपालि विभिन्न राजनीतिक दलको झन्डा बोकेर प्रत्यक्ष र समानुपातीक दुवैबाट चुनावी मैदानमा उत्रिन चाहेका थिए ।
उनीहरूले यसपटकको चुनावमा आर्थिक रूपमा शक्तिशाली मानिएका उद्योगी–व्यवसायीहरूले मात्रै स्थान पाएको गुनासो गरे । साना उद्योगि तथा व्यवसायीलाई राजनीति दलले उपेक्षा गरेको उनीहरूको भनाइ छ । यसपटक निर्वाचनमा देशभरमा भने धेरै उद्योगी व्यवसायीहरू निर्वाचनमा होमिएका थिए । धेरैले जित हासिल गरेपनि चर्चित व्यवसायीहरू भने पराजित हुन पुगे । नेपाली कांग्रेसबाट उम्मेदवार भएका विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विक्रम खनालसँग ३५ हजार भन्दा बढी मतले पराजित भए । त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ मा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल, पर्सा क्षेत्र नम्बर–१ बाट अनिलकुमार रुँगटा, कपिलवस्तु क्षेत्र नम्बर ३ बाट वीरेन्द्रप्रसाद कनौडिया, झापा क्षेत्र नम्बर ३ बाट राजेन्द्र घिमिरे, कैलाली क्षेत्र नम्बर २ बाट विजयबहादुर स्वाँर र स्याङ्जा क्षेत्र नम्बर १ बाट भरतराज ढकाल जस्ता उद्योगि एवं व्यवसायी पनि पराजित भएका छन् ।
दिग्गज र पैसावाल उद्योगि तथा व्यवसायीले पनि चुनाव हारेकाले अवको संसदमा सुनसरी मोरंग औद्योगिक करिडोबाट कुनै उद्योगि तथा व्यवसायीको प्रतिनीधित्व नहुने निश्चित भएको उनीहरूको भनाइ छ । यस पटकको प्रतिनीधिसभा चुनावमा उम्मेदवार भएका घरजग्गा व्यवसायी, म्यानपावर व्यवसायी र भन्सार एजेन्ट पनि पराजित हुन पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटबाट उम्मेदवार भएका उद्योगि व्यवसायीहरू संसदमा छिर्न पाएका छन् भने नेपाली काँग्रेस, एमाले, नेकपाबाट उम्मेदवार बनेकाहरूको संसद्को यात्रामा ब्रेक लागेको छ ।
