विराटनगर — शेखर कोइराला ले मोरङलाई नेपालको राजनीतिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन्। मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता कोइरालाले सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले मोरङ पूर्वप्रधानमन्त्रीहरू — गिरिजा प्रसाद कोइराला, मातृका प्रसाद कोइराला र बी.पी. कोइराला — को जन्म र कर्मभूमि भएको ऐतिहासिक जिल्ला भएको उल्लेख गरे। कोइरालाका अनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा गिरिजा प्रसाद कोइराला मोरङ आएपछि मात्र धारणा सार्वजनिक गर्नुहुन्थ्यो, जसले देशभर बहस र चर्चा सिर्जना गर्थ्यो।
उनले भने, “गिरिजा, बीपी र मातृका सबै विराटनगरकै थिए। उहाँहरूले देश र पार्टीको नेतृत्व गर्नुभयो। त्यसैले मोरङले फेरि नेतृत्व दिन सक्छ।”कोइरालाले मोरङ क्षेत्र नं. ६ मा नेपाली कांग्रेसले जित हासिल गरेमा राजनीतिक नेतृत्वको केन्द्र पुनः मोरङ फर्किन सक्ने विश्वास व्यक्त गरे। घुमाउरो भाषामा उनले देश र कांग्रेसको नेतृत्व परिवर्तन गर्ने क्षमता मोरङसँग मात्र रहेको संकेत गर्दै कांग्रेसलाई जिताउन आग्रह गरे
