गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलबाट ध्वस्त भएको संरचनाका कारण दैनिक कार्यालयको काम गर्नसमेत असहज भएर आर्थिक क्षेत्र तहसनहस भएको बेलामा आन्तरिक राजस्व कार्यालय विराटनगरले राजस्व संकलनमा वृद्धि गर्न सफल भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष ०८२/०८३ को विगत छ महिनामा संकलन गरेको राजस्वको तथ्यांक हेर्दा क्रमशः राजस्वमा वृद्धि हुँदै गएको पाइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा चार अर्ब ९२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कुल राजस्व लक्ष्यको ८४ प्रतिशत राजस्व असुली गर्न सफल भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आवको छ महिनामा चार अर्ब १५ करोड राजस्व असुली गरी कोशी प्रदेश मै पहिलो नम्बर प्राप्त गर्न सफल भएको दाबी गरेको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव कुमार उप्रेतीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण कार्यालयसमेत सञ्चालन गर्न कठिनाइ भइरहेको यो अवस्थामा अहिले हेर्दा राजस्वको वृद्धिदरमा उल्लेखनीय सफलता हासिल भएको बताए । मदिराजन्य उद्योग पूर्ण क्षमतामा नचल्दा गएको छ महिनामा एक अर्ब २९ करोड राजस्व उठाउन आराका सफल भएको छ । त्यसैगरी आराकाले आयकर तर्फ एब अर्ब ७० करोड राजस्व संकलन गरेको छ । यो राजस्व पनि गत आर्थिक वर्षको भन्दा बढी संकलन भएको प्रमुख कर अधिकृत उप्रेतीले जानकारी दिए । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ एक अर्ब १४ करोड राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करमा पनि लक्ष्यअनुसार ९५ प्रतिशत राजस्व संकलन भएको प्रमुख कर अधिकृत उप्रेतीले बताए । यसरी आराकाले आफ्नो लक्ष्यअनुसारको मूल्य अभिवृद्धि, बिक्री वितरणबाट आउने कर, ठेक्का तथा परामर्शबाट आउने कर र अन्य औद्योगिक उत्पादनबाट आउने कर असुलीका ध्यान पुर्याउन सकेमा आगामी दिनमा आराका विराटनगरको समग्र राजस्व असुली सन्तोषजनक हुने अवस्था रहेको विश्लेषण गर्न थालिएको थियो । तर पनि जेन–जी आन्दोलनबाट ध्वस्त संमरचनाका बाबजुद पनि कर संकलनको समग्र स्थितिलाई हेर्दाखेरी राजस्व संकलन निराशाजनक नभै सन्तोषजनक नै भएको कुरा प्रमुख कर अभिकृत उप्रेतीको भनाइ छ ।
