

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरंगको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेसहित १५ जनाविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
उनीहरूलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुुनरावेदनका लागि मुद्दा दर्ता गरेको हो । विशेष अदालतले अख्तियारद्वारा दायर भएका भ्रष्टाचारका विभिन्न मुद्दाका प्रतिवादीहरूलाई सफाइ दिएको थियो । सो फैसलामा चित्तनबुझेपछि अख्तियार सर्वोच्च अदालतमा पुगेको हो । तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेसहित १५ जनाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा विशेष अदालतको फैसला पुनरावेदनका लागि पठाएको छ । हाल ओमकार प्रसाद न्यौपाने रंगेली नगरपालिकाको कार्यकारी प्रमुुख भएर कामकाज गरिरहेका छन् । अब सर्वोच्चबाट फैसला नभएसम्म न्यौपानेलाई रंगेली नगरपालिकाको कार्यकारी प्रमुखबाट निलम्बन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित मर्मत सम्भार र रुख बिरुवा रोप्ने कार्यअन्तर्गत जिल्ला प्राविधिक कार्यालय सप्तरीको तर्फबाट विभिन्न सात वटा सडकमा मर्मत सम्भारको कार्य गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।