कोशी प्रदेशले स्वास्थ्य क्षेत्रको प्रभावकारीता वृद्धि गर्न संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय, स्रोतको न्यायोचित बाँडफाँट तथा सेवा प्रवाह सुधार आवश्यक रहेको जनाएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा यस्तो आवश्यकता औंल्याइएको हो।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री/अध्यक्ष, प्रदेश स्वास्थ्य मन्त्रीहरू, सचिवहरू तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा कोशी प्रदेशका तर्फबाट प्रस्तुत अभिव्यक्तिमा स्वास्थ्य क्षेत्र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको संवेदनशील क्षेत्र भएको उल्लेख गरिएको छ।
प्रदेशका १३७ स्थानीय तहअन्तर्गतका आधारभूत अस्पतालहरूको भवन, पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको जनाइएको छ। विशेषगरी ५, १० र १५ शैय्याका अस्पतालहरूलाई केवल भौतिक संरचनामा सीमित नराखी प्रभावकारी सेवा दिने स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।
त्यस्तै, डिजिटल स्वास्थ्य प्रणालीअन्तर्गत EHR/EMR को पूर्ण कार्यान्वयन अब विकल्प नभई आवश्यकता भएको बताइएको छ। स्थानीय तहदेखि प्रदेशका सबै सार्वजनिक स्वास्थ्य संस्थामा एकीकृत डिजिटल प्रणाली लागू गर्न संघीय स्रोत, साझा सफ्टवेयर तथा प्राविधिक सहयोग अपरिहार्य रहेको उल्लेख गरिएको छ।
महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा आकस्मिक स्वास्थ्य प्रतिकार्यका लागि प्रदेश तहमा पूर्वतयारी, आवश्यक उपकरण, प्रयोगशाला क्षमता र द्रुत स्रोत परिचालनलाई अझ सशक्त बनाउनुपर्नेमा पनि ध्यानाकर्षण गरिएको छ।
संविधानले सुनिश्चित गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नागरिकले सरकारी अस्पतालमा सहज र निःशुल्क सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
