विराटनगर । भन्सार परिसरबाटै सामान तस्करी गरेर विभिन्न स्थानमा ट्रान्सपोर्ट हुँदै पठाउने गरेको देखिएपछि विराटनगर–६ सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट राजस्व अनुसन्धान इटहरीको टोलिले ३४ पोका कपडा बुधबार नियन्त्रणमा लिइएको छ । मंगलबार पक्राउ परेका कुन्दन मण्डलले भन्सार छलेर भित्र्याएको सामान ढुवानी सेवामार्फत पठाउने तयारी गरेको सूचनाका आधारमा राजस्वले छापा हानेर बरामद गरेको हो । उनले भन्सार छलेर भित्र्याएका सामान ढुवानी सेवाबाट पठाउने गरेको आशंका गरिएको छ ।
बुधबार नियन्त्रणमा लिइएको सामानको नक्कली बील र नक्कली प्रज्ञानपत्र समेत बनाएको हुनसक्ने आशंका गरिएको छ । राजस्व अनुसन्धानले ढुवानीका प्रोपाइटर धिरज मण्डललाई समेत सामानको परीमाण यकिन नगर्दासम्म भन्दै नियन्त्रणमा लिएको छ । ढुवानी सेवा समेत कुन्दन मण्डलसहित परिवारले सञ्चालन गरेको आशंका गरिएको छ । यसमा बद्रीनारायण मण्डल र धिरज मण्डल आवद्ध छन् । यो ढुवानी सेवाबाट दुहबी, इटहरी, धरान, विराटचौक, लेटाङ, उर्लाबारी, पथरी, दमक, पश्चिममा इनरुवा, झुम्का, भण्टाबारी र कोशी ब्यारेजसम्मको मालवस्तु ढुवानी गर्न सकिने उल्लेख छ । जबकी यो क्षेत्रमा सामान ढुवानी गर्ने भन्दा तस्करीको लाइन सेटिङ मिलाउने मात्रै काम हुने गर्दछ ।
मण्डलले भन्सारमा सौगात पोखरेलको क्लियरिङ्ग नम्बर प्रयोग गरेर जाँचपास गर्दै आएका छन् । उनले भन्सारबाट जाँचपास गराउँदा प्रज्ञानपत्र भन्दा बाहेकको सामान समेत सवारीमार्फत भित्र्याउने गरेको आशंका गरिएको छ । उनले क्यारिङको सामान ल्याउने गरेको भन्सारमै चर्चा हुन्छ । एकजना भन्सार एजेन्टका अनुसार उनी सधैं बद्मासी गर्दै आएकोले अन्यलाई समेत समस्या परिरहेको छ । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सुचना अधिकारी बिमलकुमार साहले गाडी नियन्त्रणमा लिएर अहिले प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भन्सारले नियन्त्रणमा लिएर हिरासतमा राखिदिन मण्डललाई पठाएको जानकारी दिएका छन् । पोखरेलले मण्डल आफ्नै दाइहरु भएको बताए । उनले आफ्नो भन्सार एजेन्ट नम्बर तथा फमबाट काम गर्ने गरेको स्वीकार गरेका छन् ।
