

प्रजातन्त्रको बिगुल फुक्ने विराटनगरमा रहेको प्रजातान्त्रिक घर कोइराला निवास जेन–जी आन्दोलनका नाममा जलेर ध्वस्त भएको छ । कोइराला निवासलाई जेन–जी आन्दोलनका प्रर्दशनकारीहरुले गत भदौ २४ गते आगजानी गरेर खरानी बनाएका हुन् ।
१९८६ सालमा कृष्णप्रसाद कोइरालाले निर्माण गरेको र भारतका पूर्वप्रधानमन्त्री समेत बसेको कोइराला निवास हाल ध्वस्त भएको छ । त्यत्ति मात्रै होइन भारतका प्रसिद्ध साहित्यकार फणिश्वरनाथ रेणुले पनि यस घरमा आश्रय लिएका थिए । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह जनजागरण अभियानको नेतृत्व गर्दै यात्रामा निस्किएका बेला पनि सिंहले कोइराला निवासमै गएर रात बिताएका थिए । विराटनगरको यही घरमा नेपालका तीनजना प्रधानमन्त्री मातृका प्रसाद, बीपी र गिरिजाप्रसाद हुर्किएका थिए । यस्तो महत्व बोकेको घर आगजनीसँगै यी तीनै जना प्रधानमन्त्रीका महत्वपूर्ण दस्ताबेज समेत जलेर ध्वस्त बनेको छ ।
ठूलो स्वरले बोल्दा पनि कारबाही हुने राणाकालमा कृष्णप्रसाद कोइरालाले निर्माण गरेको उक्त घर राजनीति चेतना र शिक्षाको ज्योतिका लागि कोइराला निवासका नामले कहलिएको छ । राणाकालमा मात्र होइन, पञ्चायतको ३० वर्ष यो घर पटक–पटक शासकहरूको आक्रमणमा पनि परको छ । २०३६ सालको जनमत संग्रहका बेलामा यो घर जलाउन एक हुल युवा आएका पनि थिए तर स्थानीयले लखेटेर पठाएको अहिले पनि विराटनगरवासीका लागि ताजा स्मरण छ । नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर मानिएको त्यो घर गत भदौ २४ गते तोडफोड र आगजनी हुँदा सुरक्षाकर्मी र विराटनगरवासीले कसैले पनि घर बचाउने प्रयास गरेनन् । आगजनीसँगै राणा र राजाको एकतन्त्रीय शासनविरुद्ध लडेका बीपी बसेको कुर्सी, ठगीराज दाहालजस्ता सहिदका सन्तान बसेर पढेका कोठाहरू पनि आज जलेर खरानी भएको छ । यसरी जनतालाई अधिकार दिलाउन राणादेखि राजाविरुद्ध लडेको यो घर हेर्दाहेर्दै खरानी भयो । जेन–जीको नाममा योजनाबद्धरूपमा यो काम भएको विराटनगरका कांग्रेसजनहरु बताउन थालेका छन् ।
कोइराला परिवारमा अंशबण्डामा यो घर कांग्रेस नेता डा.शेखर कोइरालाको भागमा परेको थियो । उनले घरको तल्लो तल्लामा आफ्नो सचिवालय चलाइरहेका थिए । सचिवालयमा दुईवटा कम्प्युटर, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिलगायत पार्टीका थुप्रै कागजपत्र जलेर खरानी भएका छन् । ‘डा.शेखर कोइरालाले जेन–जी पुस्ताको भावना बुझौँ भनेर पार्टी सभापतिलाई पटक–पटक भन्नुभएको थियो । तर कल्पना पनि थिएन कोइराला निवास जेन–जीले जलाउँछन् भन्ने’, यहाँको एक कांग्रेसका नेताले भने ।
केही वर्षअघि काठमाडौंको सुन्दरीजलबाट आएका बीपी संग्रहालयका पदाधिकारीले समेत बीपीका केही दस्तावेज र उनले प्रयोग गरेका सामान यही कोइराला निवासबाटै लगेका थिए । त्योबाहेक पनि यो घरमा कृष्णप्रसाद कोइरालाले लेखेका पत्रहरू थिए । लोकतन्त्रको धरोहर कोइराला निवास जलाउने कार्यलाई नगरवासीहरुले आततायीको संज्ञा दिन थालेका छन् तर उनीहरु निवास जलाउने बेलामा मुकदर्शक बनेर बसेका थिए ।
जसले लोकतन्त्रका लागि लड्यो, टुहुरा बालबालिका, सहिदका सन्तान पढायो आज त्यसैको घर तोडफोड भयो, के यो जेन–जी पुस्ताको आन्दोलनको भावना थियो त ? भन्ने सवाल पनि जोडतोडका साथ उठ्न थालेको छ । ऐतिहासिक धरोहर कोइराला निवासमा आगजनी गर्नेहरूको पहिचान बिस्तारै खुल्न थालेको सार्वजनिक भएको छ । आगजनी र लुटपाटको घटनामा संलग्न केही युवाहरूको अनुहार सामाजिक सञ्जाल र सञ्चारकर्मीहरूले खिचेका भिडियो फुटेजमार्फत खुलेको सार्वजनिक भएको हो । दिउँसो करिब ३ बजे सयौँको संख्यामा आएको प्रदर्शनकारीको भीडले कोइराला निवासमा तोडफोड गर्दै आगजनी गरेको थियो । सार्वजनिक भएका भिडियोहरूमा मास्क र हेल्मेट लगाएका युवाहरूले घरभित्रका ऐतिहासिक सामग्रीहरू बाहिर निकालेर आँगनमा जलाइरहेको स्पष्ट देखिन्छ । एकजना हेल्मेट र मास्क लगाएका युवाले निवासभित्र रहेको पुरानो घडी चोरेर लगेको दृश्य समेत खिचेको भिडियोमा सार्वजनिक भएको छ । यी फुटेजहरूलाई आधार मानेर प्रहरीले अनुसन्धान अगाडि बढाएमा संलग्नको पहिचान हुने निश्चित भए पनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन ।
आगजनीबाट काठले बनेको सय वर्ष पुरानो ऐतिहासिक घर क्षणभरमै जलेर खरानी भएको छ । घरसँगै रहेका दुईवटा पक्की भवनमा पनि क्षति पुगेको छ । यसरी प्रजातान्त्रिक आन्दोलनको जीवन्त इतिहास बोकेको धरोहरमा भएको आक्रमणले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ ।
मोरंगका एक सय तिन सरकारी कार्यालय ध्वस्त
जेनजीको आन्दोलनमा मोरङका १ सय ३ वटा कार्यालयमा क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भाद्र २४ गतेको आन्दोलनको क्रममा जिल्लामा संघिय सरकारका २१, प्रदेश सरकारका १४, स्थानीय पालिका भवन १० र ५८ वटा वडा कार्यालय भवनमा क्षति पुगेको हो ।
मोरङ जिल्लामा ७३ वटा संघिय कार्यालय, ३९ वटा प्रदेश कार्यालय, १७ वटा स्थानीय पालिका भवन र १ सय ५९ वटा वडा कार्यालय भवन गरी १ सय ४८ वटा कार्यालय रहेका छन् । यसमध्ये १ सय ३ वटा कार्यालय आन्दोलनको क्रममा क्षतिग्रस्त भएका हुन ।
आन्दोलनमा क्रममा बिराटनगर महानगरपालिकाभित्र १९ वटा वडा कार्यालय रहेकोमा १६ वटा वडा कार्यालय जलेर खरानी भएको छ भने १९ जना वडा अध्यक्षको घरमध्ये सात जना वडा अध्यक्षको घर जलाइएको छ । यसैगरी आन्दोलनको क्रममा नेपाल प्रहरीका १७ वटा पोष्ट र सशस्त्र प्रहरीको ४ वटा पोष्टमा क्षति पुगेका छन । ८ वटा राजनीतिक पार्टीको कार्यालय, ३ व्यापारिक भवन, ४ वटा संघसंस्था, १ वटा संस्थान र १५ वटा निजी घरमा क्षति पुगेको जानकारी प्रजिअ यादवले दिएका छन ।