

विराटनगर,पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी मानिएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा आगामी पाँच वर्षभित्र कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
रजत जयन्तीको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले ‘चेन अफ हस्पिटल’ मोडलमार्फत सुपरस्पेशियालिटी सेवा विस्तार गर्ने लक्ष्यबारे जानकारी दिए। उनका अनुसार कोशी प्रदेशको झापाको दमक र मधेश प्रदेशका दुई स्थानमा नयाँ शाखा स्थापना हुनेछ। हाल १५० शय्यामा सञ्चालित अस्पताललाई छिट्टै २५० शय्यामा स्तरोन्नति गर्ने तयारी समेत गरिएको छ।
वि.सं. २०५७ साल भदौ ८ गते डा. बिरेन्द्र कुमार विष्टले स्थापना गरेको यस अस्पतालले २५ वर्षको यात्रामा स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। पूर्वाञ्चलकै पहिलो न्यूरो सर्जरी सेवा, क्याथल्याब सेवा, तुलसा मदर एण्ड चाइल्ड हस्पिटल, कोभिड हस्पिटल सञ्चालन तथा नेपालकै पहिलो १२८ स्लाइस एपार्ड सिटी स्क्यान मेसिन जडानजस्ता उपलब्धिहरू हासिल गर्दै यस संस्थाले २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकेको छ।
रजत जयन्तीको अवसरमा अस्पतालले तुलसा देवी फाउण्डेसन स्थापना गरी प्रत्येक वर्ष कोशी प्रदेशका उत्कृष्ट नर्स र उत्कृष्ट मेडिकल अफिसरलाई ५१ हजार राशिसहित सम्मान गर्ने निर्णय गरेको छ। साथै ब्लड बैंक स्थापना, सरसफाइ, वृक्षारोपण र सामुदायिक कार्यहरूमा पनि सक्रियता बढाउने योजना अस्पतालले अघि सारेको छ।
यस अवसरमा भदौ ८ गतेदेखि १४ गतेसम्म २५ वटा स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विष्टका अनुसार न्यूरो अस्पतालले अब कोशी र मधेश प्रदेशमा शाखा विस्तार गर्दै क्षेत्रीय स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।