

विराटनगर । नेपाल र भारतको बीचमा रहेको खुला सिमानामा तस्करी नियन्त्रणमा आउन सकेको छैन । सीमाको सुुरक्षानाकाबाट हुने तस्करी समेतको नियन्त्रण गर्नुपर्ने दायित्व बोकेको सशस्त्र प्रहरी बलको सहयोगमा नै तस्करी हुँदै आएको पाइएको छ ।
सशस्त्र प्रहरी ३ नम्बर हेडक्वाटर गण टंकीसिनवारी मोरङमा रहेको कार्यालयअन्तर्गत नेपाल–भारतबीचमा रहेको खुला सीमामा करिब दशवटा सशस्त्र प्रहरीको बीओपी अर्थात् बोर्डर आउटपोस्ट कार्यरत रहेका छन् । त्यसबाहेक नेपाल भारतको बीचमा रहेको खुला सीमाको निगरानीका लागि विराटनगरको रानीमा रहेको सुगर मिलको पुरानो भवनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा कार्यालय नै सञ्चालन गर्दै आएको छ । यति ठूलो संख्यामा मोरङमा सशस्त्र प्रहरी तैनाथ हुँदा पनि खुला सीमाबाट हुने तस्करी नियन्त्रण हुनुको साटो तीव्ररुपमा दैनिक बढ्दै गएको छ ।
समाचार स्रोतका अनुसार पछिल्लो समय मोरङको नोचा र कुवाडी भन्ने स्थानबाट नेपाल–भारतबीचको खुला सीमाबाट हुने तस्करीलाई सशस्त्र प्रहरीले अन्देखा गर्दै खुला छोडेपछि उसकै सामुुन्ने राति–राति सीमा क्षेत्र गुल्जार हुने गरेको छ । अहिले यी खुला नाकाबाट नेपालतर्फ चिनी अत्यधिक मात्रामा आयात भइरहेको छ । नेपालबाट भने चाइनिज स्याउ र गाईगोरुको खुलेयाम निकासी भइरहेको दाबी स्रोतले गरेको छ । यसरी खुलेयाम सामान ल्याउने र लाने काम रातिराति मात्रै हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । चिनिया स्याउको कारोबारमा सुमन साह र गाईगोरुको निकासीमा व्यापारी नाजीर मुसलमान सक्रिय रहेको दाबी स्रोतले गरेको छ । सशस्त्रले राति हुने कारोबारमा अन्देखा गरिदिएपछि खुला सीमाबाट हुने यस्ता कारोबार पछिल्लो समय मोरङका अधिकांश खुला सीमा नाकाबाट तीव्ररुपमा सञ्चालन भइरहेका छन् ।
सशस्त्र प्रहरी ३ नम्बर हेडक्वाटर टंकीसिनवारी गणमा टंकीकै स्थानीय बासिन्दा राजेश घिमिरे सशस्त्र प्रहरी उपरीक्षकमा सरुवा भएर आएको केही महिनादेखि नै नेपाल भारतका बीचमा रहेको अवैध कारोबार बढेको हो । उक्त अवैध कारोबारका लागि नोचा र कुवाडी नाका सञ्चालनमा आएको दाबी पनि स्रोतले गरेको छ । अहिले पनि उक्त दुवै नाकाबाट खुलेयाम सशस्त्रकै संरक्षणमा आयात निर्यातको अवैध कारोबार मौलाएको छ । यसरी हुने अवैध कामका विषयमा कुुनै पनि घटना सार्वजनिक नहोस् भनेर त्यसका लागि उपरीक्षक घिमिरेले सशस्त्रको बखरीमा रहेको बीओपीलाई जिम्मेवारी सुम्पिएको घटना पनि बाहिरिएको छ । सशस्त्रको बखरीमा रहेको बीओपीको इन्चार्जमा सई रामकाजी खत्री कार्यरत रहेकै अवस्थामा उपरीक्षक घिमिरले आफ्ना निकटका अर्का सई प्रकाश दाहाललाई खटाएर खत्रीलाई हटाएका छन् । सो घटनापछि उपरीक्षक घिमिरेको सेटिङ छताछुल्ल भएको स्रोतले जानकारी दिएको छ ।