

विराटनगर । भारत सरकारले कच्चा तेलको भन्सार घटाउने घोषणा गरेसँगै आगामी दिनमा नेपाली पाम उद्योगहरू संकटमा पर्ने निश्चित भएको छ । विगत दश महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएर भटमासको तेल ७८ अर्ब ७५ करोड, सूर्यमुखी तेल १० अर्ब नौ करोड र पाम आयल एक अर्बको निकासी भएको अवस्थामा भारत सरकारको उक्त निर्णयले नेपाली उद्योग मारमा पर्ने निश्चित भएको उद्योगीहरू बताउँछन् ।
नेपाल सरकारले ऐतिहासिक निकासी भएको दाबी गरेको एक साता नबित्दै भारतले खाने तेलको कच्चा पदार्थको भन्सार घटाएपछि अब कच्चा पदार्थ घट्नेबित्तिकै झण्डै एक खर्ब बराबर निकासीमा धक्का लाग्ने सुुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूले बताएका छन् । कोरिडोरका पाम उद्योगी एवं उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन कावराले भारत सरकारले खाने तेलको कच्चा पदार्थको महसुलमा ५० प्रतिशतले कटौती गरेपछि भारतका तेल उद्योगीको मागलाई सम्बोधन गर्दै कच्चा पदार्थको महसुल कटौतीपछि नेपाली तेल उद्योगीहरू स्तब्ध भएको बताए । उनले गत शुक्रबारदेखि कच्चा तेलको महसुलमा भारत सरकारले कटौती गरेसँगै अब भटमास, सूर्यमुखी र पामको कच्चा तेलको आयातमा लाग्दै आएको २० प्रतिशत आयात महसुललाई आधा घटाएको समेत बताए । उपाध्यक्ष कावराले कच्चा खानेतेलमा भारतले सामाजिक सुरक्षादेखि केही साना कर पनि कटौती गरेर भारतका तेल उद्योगीले इन्डोनेसिया, मलेसिया, युक्रेन, अस्ट्रेलियालगायतका मुलुकबाट आयात गर्ने तीनै प्रकारको कच्चा तेलमा दश प्रतिशत मात्र महसुल तिर्ने व्यवस्था गरेसँगै नेपाली पाम उद्योगी संकटमा परेको कुरा उद्योगी कावराले बताएका थिए ।
सुुनसरी मोरङ औद्योगिक कोरिडोरमै सञ्चालनमा रहेको अर्को बागमती आयलका सञ्चालक एवं उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी(टोपी)ले एक्कासी भारत सरकारको महसुल घटाउने निर्णयसँगै अब नेपालको एक खर्बभन्दा बढीको निर्यात व्यापार नराम्रो गरी प्रभावित हुने कुुरा बताएका थिए । उद्योगी राठीले भने अब निर्यातको उद्देश्यले कुनै उद्योगीले पनि कच्चा तेलको एलसी नखोल्ने र भएको तेल क्लियर गर्नतिर मात्रै लाग्ने अवस्था आएको कुुरा जानकारी दिएका थिए । उनले अब भारतका उद्योगले आफैँ ११ प्रतिशतको सहुलियत पाएपछि यहाँको निर्यात नराम्ररी प्रभावित हुने दाबी समेत राठीले गरेका थिए । नेपालबाट चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्ममा ८९ अर्बको खाने तेल भारत निर्यात भएको जसमा ७८ अर्बको भटमासको तेल, १० अर्बको सूर्यमुखीको तेल र बाँकी पाम तेलको हिस्सा रहेको कुरा उद्योगी राठीले जानकारी दिएका थिए ।