

विराटनगर । आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को तयारी तीव्र पारिएको छ । उद्योग संगठन मोरङले एक्स्पो आयोजना गर्ने स्थल डिग्री क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरी आठौँ संस्करणको सो एक्स्पो सञ्चालनको तयारीका बारेमा जानकारी गराएको हो । विराट एक्स्पो आगामी माघ ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुुने उद्योग संगठन मोरङका उपाध्यक्ष तथा एक्स्पो तयारीका संयोजक भोलेश्वर दुुलालले जानकारी दिए । उनका अनुसार संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सवको नामबाट गरेको थियो । सो एक्स्पोको नाम परिवर्तन गरी विराट एक्स्पोमा रूपान्तरण गरी हाल आठौं संस्करणसम्म आइपुगेको उनले जानकारी दिए । यो एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको थोरै औद्योगिक एक्स्पोमध्ये आफ्नै छुट्टै पहिचान र ब्रान्डको रूपमा स्थापित रहेको उनको दाबी थियो ।
यो एक्स्पो विशुद्धरूपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान हुने उनले बताए । साथै, उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न एक्स्पोले सघाउने विश्वास व्यक्त गरे । एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रम सँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा केन्द्रित विषयमा सेमिनारहरू पनि आयोजना गरिने जानकारी दिइएको थियो । नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागि रोजगार पेभिलियन, पर्यटन प्रवर्द्धनका लागी पर्यटन पेभिलियन र लगानी पेभिलियनहरूको छुट्टाछुट्टै व्यवस्थापन गरी समग्र औद्योगिक विकासको इकोशिष्टमको प्रवर्द्धन गर्ने प्रयास गरी यसपटक केही फरक र नयाँपन दिने प्रयत्न गरिएको संयोजक दुलालले जानकारी दिए ।
युवालाई स्वदेशमै काम गर्नसक्ने वातावरण तयार गर्ने प्लेटफर्मको रूपमा एक्स्पोलाई प्रयोग गरिन लागेको आयोजकको दाबी छ । एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिकको सिस्टम निर्माणका साथै उद्यमशीलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ । युवाहरूले डिजिटल प्रविधिमा आधारित रहेर सञ्चालन गरेको उद्योग/व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरी करियर काउन्सिलिङ, एआई कन्फ्रेन्स, स्टार्टअफ भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विटुवी विराट बजार, विजनेस क्लिनिकलगायतका कार्यक्रम एक्स्पोमा समावेश गरिएको छ । त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोबाइललगायतको सहभागिताका अलावा उद्यमशीलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरू प्रदर्शन हुने गरी व्यवस्था मिलाइएको छ ।