विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक वर्षअघि नै बक्यौता नबुझाउने सूचीमा सार्वजनिक गरिएका उद्योगीहरूले अझैसम्म राजस्व दाखिला नगरेको पाइएको छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका केही ठूला उद्योगी तथा व्यवसायीहरू अझै पनि आन्तरिक राजस्व कार्यालयको बक्यौता नतिर्नेको सूचीमा रहेका छन् । विवादास्पद रूपमा चिनिएका उद्योगी मोतीलाल दुगड हाल राजस्व तथा मूल्य अभिवृद्धि कर (मु.अ.कर) नतिर्ने बक्यौता सूचीको अग्रपंक्तिमा रहेका छन् । गत वर्ष फागुनमा आन्तरिक राजस्व कार्यालय विराटनगरले दुगडसँग सम्बन्धित विभिन्न कम्पनीहरूको बक्यौता असुलीका लागि नाम सार्वजनिक गरेको थियो । कार्यलयले होटल हैरिसन प्यालेस प्रा.लि. सहित एसिया केम प्रा.लि. र एसिया केमिकल कम्पनी प्रा.लि.को बक्यौता १५ दिनभित्र बुझाउन सूचना जारी गरिएको थियो । तर, करिब १४ महिना बितिसक्दा पनि ती कम्पनीहरूले बक्यौता तिरेका छैनन् । केही वर्षअघि उनी मन्त्री हुँदा उनको कम्पनीले अवैध रूपमा नुन कारोबार गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी गरेपछि उनको कारोबार बन्द भएको थियो । दुगडको कम्पनी दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस मोरङले अनुमति नपाएको अवस्थामा नै ‘सेन्चुरी स्प्रिंकल टेबल साल्ट’ को नाममा आयोडिनयुक्त नुन बिक्री गरेको पाइएको थियो ।
यस्तै कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाको नाममा दर्ता रहेको विराट हेल्थ फुड प्रोडक्ट्स प्रा.लि. पनि लामो समयदेखि मु.अ.कर नबुझाएर बक्यौता नबुझाउने सूचीमा रहेको छ । निरौलाले उक्त कम्पनी बिक्री गरिसकेको दाबी गरे पनि कार्यालयको अभिलेखमा भने उनको नाममा बक्यौता यथावत् देखिएको छ । त्यसैगरी, उद्योगी मोतीलाल दुगडका भाइ सतीशकुमार दुगडको नाममा दर्ता रहेको नेसनल पाइप इन्डस्ट्रिज पनि आयकर तथा मु.अ.कर नबुझाएको कारण बक्यौता नबुझाउने सूचीमा परेको छ । आन्तरिक राजस्व कार्यालयले गतवर्ष नै नाम सार्वजनिक गरेर बक्यौता असुली प्रक्रिया अघि बढाए पनि सम्बन्धित उद्योगी तथा व्यवसायीहरू सम्पर्कमा नआएको स्रोतको भनाइ छ । एक वर्ष बितिसक्दा पनि बक्यौता असुलीमा प्रगति नदेखिनु राजस्व प्रशासनका लागि चुनौती बन्दै गएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको आन्तरिक राजस्व कार्यालय विराटनगर आफैं पुनःस्थापनाको समस्यामा अल्झिँदा बक्यौता असुली प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको जनाइएको छ ।
