२७ कार्तिक २०८२, बुधबार

नेपाल जुटको सम्पत्ति लिलामी हुँ

Logo
news बुधबार, कार्तिक २७, २०८२

विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा निजी लगानीमा स्थापना भएको पहिलो उद्योग नेपाल जुट इन्डस्ट्रिज लिलामीको अवस्थामा पुगेको छ ।

उद्योग सञ्चालकले यो उद्योगको चल–अचल सम्पत्ति धितो राखेर बैंकबाट लिएको ऋण नतिरेपछि गरिमा विकास बैंक लिमिटेडले यो उद्योगको चल–अचल सम्पत्ति लिलामीको सूचीमा राखेको हो । वि.सं. १९९३ मा मुलुकको पहिलो उद्योगका रूपमा सरकारी स्वामित्वमा मिल्स एरिया रानी क्षेत्रमा विराटनगर जुट मिल र २००३ मा रघुपति जुट उद्योग स्थापना भएको थियो । त्यसपछि निजी क्षेत्रबाट २०३२ सालमा उद्योग मन्त्रालय र उद्योग विभागमा दर्ता भएर २०३८ सालदेखि मोरङको तत्कालीन टंकीसिनवरी गाउँपालिका हुुँदै अहिले बुढीगंगा गाउँपालिकामा रहेको यो जुट उद्योग सञ्चालनमा आएको थियो । लामो समयदेखि पूर्णरुपमा बन्द भएको यो जुट उद्योग हाल बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको छ ।

सरकारी स्वामित्वको विराटनगर जुट मिल र रघुपति जुट मिलपछि निजी क्षेत्रको पहिलो जुट उद्योगका नाममा नेपाल जुट इन्डस्ट्रिज प्रालि खुल्यो । त्यसपछि गुहेश्वरी ट्वाइन, अरिहन्त, सिएम, निकी, स्वस्तिक, चन्द्रशिव, पाथिभरा, बाबा र पशुपति जुट उद्योग खुलेका थिए । तीमध्ये अहिले रघुपति, अरिहन्त, बाबा, स्वस्तिक, चन्द्रशिव र पशुपति जुट उद्योग मात्र सञ्चालनमा छन् । कटहरीमा रहेको सिएम जुट मिल्सलाई राठीग्रुपसँग लिजमा लिएर राजकुमार गोल्छाको अरिहन्त जुट मिल्सका (सिए) चार्टर एकाउन्टेन्ट अमित जैनले श्री पशुपतिनाथ जुुट मिल्सका नाममा अर्को जुट मिल्स सञ्चालन गर्दै आएका छन् । उनै जैनले निजी क्षेत्रबाट स्थापना गरी सञ्चालन गरेको नेपाल जुटका मसिनरी पार्टसहरु समेत सबै निकालेर पशुपतिनाथ जुट मिल्समा लगाएको उद्योगीहरुको भनाइ छ ।

यस बेला खण्डहर बनेको नेपाल जुटको सम्पत्ति समेत लिलामी हुने अवस्थामा पुगेपछि अमित जैनले त्यो प्रक्रियालाई कसरी मिलाउने हुन हेर्न बाँकी रहेको एक जुट उद्योगीले बताए । विराटनगरका रिजाल दाजुभाइ गायत्री र ईश्वरीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा नेपाल जुट इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएका थिए । नेपाल जुट उद्योग सञ्चालन हुँदा उद्योगले सात सयभन्दा बढीलाई रोजगारी दिएर वार्षिक करोडौँ मूल्य बराबरको जुटका तयारी वस्तु भारत निकासी गर्दै आएको थियो । उद्योग पूर्णरूपमा बन्द भएपछि उद्योग सञ्चालकले उद्योगका पार्टपुर्जा लिजमा सिए अमित जैनलाई, भवन र ईटा कबाडीलाई बिक्री गरिसकेको जानकारहरु बताउँछन् । यसबेला उद्योग परिसरमा उद्योगले चर्चेको जमिनबाहेक केही पनि नभएको व्यवसायीहरुले बताए । नेपाल जुटका सञ्चालक ईश्वरी प्रसाद रिजाल रहेकोमा उनको मृत्युपछि उनका छोरा शिरिश रिजालले हेर्दै आएका थिए । सिरिश रिजालको पनि मृत्यु भएपछि उनकी श्रीमती मालिका ढकालले नेपाल जुटको कारोबार हेर्दै आएको जानकारहरुले बताएका छन् ।

नेपाल जुटबाट उद्योगका पार्टपुर्जा समेत लगेर उद्योग सञ्चालन गर्दै आएको भनिएका सिए अमित जैनले बैंकलाई कर्जाको पहिलो किस्ता आफूले गत असोज महिनामा नै बुझाएको र दोस्रो किस्ता पुस मसान्तमा बुझाउन आफू तयार रहेको जानकारी दिँदै एक वर्षभित्रमा सबै किस्ता बुझाउने बताए । उनले आर्थिक दैनिक संगको कुराकानीका क्रममा नेपाल जुटका उद्योगीहरु सबैसँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गरे । तर पछिल्लो समय बैंकबाट भएको लिलामी प्रक्रिया सार्वजनिक पछि सिए अमित जैन सुनसरी मोरङ औद्योगिक कोरिडोरमा विवादित बन्न पुगेका छन् । गरिमा विकास बैंकले सुरक्षा धितोको विवरणअनुसारको मालपोत कार्यालय मोरङमा नेपाल जुट इन्डस्ट्रिज प्रालिको नाममा दर्ता स्रेस्ता कायम रहेको मोरङको टंकीसिनुवारी गाविस स्थित वडा नं. ४, नक्सा सिट नं. ४ ख को कित्ता नं. २३०, ८२, १८०, १८१ (क्षे.फ. ०–२–१०, ०–४–९, १–१२–०, १–१२–८ बिघा) जग्गा र त्यसमा भएको जग्गा, घर र सोले चर्चेको सम्पूर्ण लिगल समेत लिलाम बिक्रीसम्बन्धी १५ दिने सूचना सार्वजनिक गरेको छ । गरिमा विकास बैंक स्रोतका अनुसार उक्त उद्योगको कर्जामा पछिल्लो ४/५ वर्षदेखि समस्या देखिएको हो । बैंकले कर्जाको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिसकेको छ । उद्योगको सम्पत्ति पनि ७०–७५ करोडमाथि नै भएको बैंकका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१