

विराटनगरको राठी ग्रुपले आफ्ना निजी कम्पनीहरूका नाममा आईपीओ जारी गर्न आर्थिक अनियमिता गरेको पाइएको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा राठी ग्रुपले सञ्चालन गर्दै आएको अन्नपूर्ण केबल इन्डस्ट्रिज, राठी इलेक्ट्रिक, राठी केवल, राठी एड्सिभ र अन्नपूर्ण वायडिङको नाममा राठी ग्रुुपले आफ्ना कम्पनीको प्रारम्भिक (आईपीओ) निष्काशनका लागि व्यापक चलखेल गरेको पाइएको हो ।
राठी ग्रुपकै एक कम्पनीको लेनदेन मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको घटना सार्वजनिक भएसँगै ग्रुपका सञ्चालक श्याम राठी गम्भीर वित्तीय अनियमितता फसेको पाइएको एक उद्योगीले जानकारी दिए । राठीले आफ्ना केही कम्पनीहरूको लेखा विवरणलाई नै कृत्रिमरूपमा सुधार गरेजस्तो गरी आईपीओ जारी गर्नका लागि तत्कालीन केपी ओली सरकारमार्फत व्यापक चलखेल गरिरहेको पनि ती उद्योगीले बताए । उनका अनुसार राठी ग्रुपका सञ्चालक श्याम राठीले मुख्यतः उद्योग रहेको जग्गा, भवन तथा मेसिनरीको पुनः मूल्याङ्कन गरी वास्तविक भन्दा धेरै उच्च मूल्य देखाउन सुरु गरेका थिए । त्यसैगरी, ब्रान्डको मूल्य समेत अत्यधिक बढाएर देखाइ कम्पनीको नेटवर्थ कृत्रिमरूपमा उच्च बनाएर आफ्ना विभिन्न कम्पनीका नाममा प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको उनको दाबी छ ।
विराटनगरमा पछिल्लो समय जेन–जी आन्दोलनपश्चात सुशीला कार्की नेतृत्वमा सरकार निर्माण भएपछि पनि केही कम्पनीका प्रवद्र्धक तथा निर्देशकहरू बैंकबाट लिएको ऋण तिर्ने, व्यक्तिगत ग्यारेन्टी फिर्ता गर्ने र केही अतिरिक्त रकम संकलन गर्ने काममा सक्रिय हुने गरेको एक बैंकर्सले जानकारी दिए । तर दुर्भाग्यवश त्यस्ता कम्पनीहरूको वास्तविक बिक्री कारोबार २० करोड हुँदा बैंकको ऋण एक सय १५ करोडभन्दा बढी रहेको तथ्य समेत भेटिने गरेको छ ।
यस प्रकारको अनियमितता नियन्त्रण नगरिएमा त्यस्ता कम्पनी वित्तीयरूपमा धराशायी हुने र त्यसको सम्पूर्ण भार सर्वसाधारण लगानीकर्ताले व्यहोर्नुपर्ने अवस्था आउने भन्दै केही बैंकर्सले चिन्ता व्यक्त गर्न थालेका छन् । आईपीओ जारी गर्ने क्रममा आउँदै गरेको राठी ग्रुप र सञ्चालक श्याम राठीले पुँजी बजारमाथि अविश्वास, बैंकिङ प्रणालीमा संकट तथा आमजनतामाथि नै ठूलो ठगी निम्त्याउने देखिएकाले समयमा नै सरकार र नियामक निकायहरूलाई सचेत रहन पनि कोरिडोरका उद्योगीहरुले आग्रह गरेका छन् ।
उनीहरुले कुनै पनि कम्पनीले आईपीओ ल्याउनुअघि कम्पनीको लेखापरीक्षण तथा सम्पत्ति पुनः मूल्याङ्कनलाई निष्पक्ष मूल्याङ्कन, ब्रान्ड मूल्याङ्कन तथा नेटवर्थको प्रमाणिकता पुष्टि गर्ने स्वतन्त्र मूल्याङ्कन समिति, कम्पनीको बिक्री कारोबार र कर्जाको अनुपातको विश्लेषणविना आईपीओ स्वीकृति नगर्ने, यस्तो अनियमितता गर्ने प्रवद्र्धकहरूलाई कडा कारबाहीको व्यवस्था गर्न जरुरी भएको बताएका छन् । उद्योगी श्याम राठी विराटनगरमा बदनाम व्यवसायी हुन् । उनले उद्योगमा काम गर्ने कर्मचारीमाथि पनि श्रमशोषण गरेको भन्दै श्रम कार्यालयमा उजुरी पनि परेको छ ।