

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका निजी कम्पनीहरूले आईपीओमार्फत आर्थिक अनियमिता गरिरहेको पाइएको छ । अन्नपूर्ण केबल इन्डस्ट्रिजले आफ्नो निजी कम्पनीको प्रारम्भिक ९आईपीओ० निष्काशनका लागि भन्दै तयारी गरिरहेको बेला उक्त कम्पनीको लेनदेन मुद्दा मोरङ जिल्ला अदालतमा रहेको पाइएको हो ।
अन्नपूर्ण केबल गम्भीर वित्तीय अनियमितता फसेको एक उद्योगीले आर्थिक दैनिकलाई जानकारी दिएका छन् । कोरिडोरका केही कम्पनीहरूले आफ्नो लेखाविवरणलाई नै कृत्रिमरूपमा सुधार गर्दै आईपीओ जारी गर्ने गरेको उनले जानकारी दिए । मुख्यतः जग्गा, भवन तथा मेसिनरीको पुनर्मूल्याड्ढन गरी वास्तविकभन्दा धेरै मूल्य देखाउने र ब्रान्डको मूल्य समेत अत्यधिक बढाएर कम्पनीको नेटवर्थ कृत्रिमरूपमा उच्च बनाउने गरेको स्रोतको दाबी छ । त्यसरी देखाइएको फाइदाको भरमा जिल्ला अदालतमा लेनदेन मुद्दा नै बोकिरहेको अन्नपूर्ण केबलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको हो ।
पछिल्लो समय विराटनगरमा केही कम्पनीका प्रवद्र्धक तथा निर्देशकहरू बैंकबाट लिएको ऋण तिर्ने, व्यक्तिगत ग्यारेन्टी फिर्ता गर्ने र केही अतिरिक्त रकम संकलन गर्ने काममा सक्रिय हुुने गरेका छन् । तर दुर्भाग्यवश त्यस्ता कम्पनीहरूको वास्तविक बिक्री कारोबार १५ करोड हुँदा बैंकको ऋण ११० करोडभन्दा बढी रहेको तथ्य समेत भेटिने गरेको ती उद्योगीको दाबी छ । यस प्रकारको अनियमितता नियन्त्रण नगरिएमा कुनै दिन यस्तो कम्पनी वित्तीयरूपमा धराशायी हुने र त्यसको सम्पूर्ण भार सर्वसाधारण लगानीकर्ताले व्यहोर्नुपर्ने अवस्था आउनेमा उनले बताए । यस्तो अवस्थाले पूँजी बजारमाथि अविश्वास, बैंकिङ प्रणालीमा संकट तथा आम जनतामाथि नै ठूलो ठगी निम्त्याउने उनको भनाइ छ । समयमै सरकार र नियामक निकायहरूलाई सचेत रहन कोरिडोरका उद्योगीले आग्रह गरेका छन् ।
कम्पनीले आईपीओ ल्याउनुअघि कम्पनीको लेखापरीक्षण तथा सम्पत्ति पुनर्मूल्याड्ढनलाई निष्पक्ष मूल्याड्ढन, ब्रान्ड मूल्याड्ढन तथा नेटवर्थको प्रमाणिकता पुष्टि गर्ने स्वतन्त्र मूल्याड्ढन समिति, कम्पनीको बिक्री कारोबार र कर्जाको अनुपातको विश्लेषणविना आईपीओ स्वीकृति नगर्ने, यस्तो अनियमितता गर्ने प्रवर्द्धकहरूलाई कडा कारबाहीको व्यवस्था गर्न जरुरी भएको कोरिडोरका उद्योगीहरुको भनाइ छ ।
आईपीओमा जाने तयारी गरिरहेको विराटनगरको अन्नपूर्ण केबलविरुद क्लिन कंक्रिटले निर्माण सामग्रीको भुक्तानी माग गर्दै मोरङ जिल्ला अदालतमा लेनदेनको मुद्दा दायर गरेको छ । क्लिन कंक्रिटका सञ्चालक पंकज गोयल अग्रवालले उद्योगले निर्माणका क्रममा लगेका सामग्रीको भुक्तानी नगरेको र ताकेता गर्दा बेवास्ता गरेकाले आपूर्तिकर्ता कम्पनीले मुद्दा दायर गरेको बताए । निर्माण कम्पनी क्लिन कंक्रिट नेपाल प्रालिले राठी ग्रुपको अन्नपूर्ण केबल इन्डस्ट्रिजलाई मुद्दा दायर गरेको छ । गोयलका अनुसार क्लिन कंक्रिटले लिन बाँकी रहेको रकम १८ लाख ९८ हजार र सोको ब्याज समेत गरी २० लाख ८८ हजार रुपैयाँ दिलाई–भराई पाऊँ भनी मुद्दा दायर गरेको हो ।
अन्नपूर्ण केबल विराटनगरको औद्योगिक घराना राठी ग्रुपका श्याम राठीले आफैँले नेतृत्व गर्दै आएका छन् । आफ्नो कम्पनीले बाँकी रकम भुक्तानीका लागि पटकपटक अनुरोध गर्दा समेत अन्नपूर्ण केबलका सञ्चालक श्याम राठीले बेवास्ता गरी सम्पर्क नै नगर्ने, फोन रिसिभ नगर्ने, कार्यालयमा भेट नदिने, संयोगवश भेट भएमा भोलि दिन्छु वा पर्सि दिन्छु भन्दै आलटाल गरी क्लिन कंक्रिटले पाउनुपर्ने रकम भुक्तानी नगरेपछि आफू अदालत जानुपरेको पंकज गोयल अग्रवालले बताए । अन्नपूर्ण केबलका सञ्चालक श्याम राठी विराटनगरमा बदनाम व्यवसायी भएको र उनले उद्योगमा काम गर्ने कर्मचारीमाथि पनि श्रमशोषण गरेको भन्दै श्रम कार्यालयमा धेरैपटक मजदुर तथा कर्मचारीबाट उजुरी परेको जानकार उद्योगीहरुले बताएका छन् ।